महिला भलिबल : इरानलाई हराउँदै नेपाल फाइनलमा, भारतलाई हराएर उपाधि हत्याउने दाउमा

काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५–२१ ले पराजित गर्यो । इरानसँग १–५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अंक जोडदै नेपालले अग्रता लिएको थियो ।

खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५–९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१–२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अंक जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८–२६ को जित निकाल्यो ।

खेलको तेस्रो सेट भने नेपालले २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगितमा नेपाल अंक तालिकाको दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

यसअघि भएको लिग चरणको दोस्रो खेलमा इरानले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । सोही हारको बदला लिँदै नेपालले प्रतियोगिताको फाइनमा भारतसँगको भेट पक्का गर्न सफल भयो । अब नेपाल बुधबार हुने फाइनल खेलमा भारतलाई हराउँदै उपाधि हत्याउने दाउमा रहने छ ।

लिग चरणको खेलमा नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सेट र भारतलाई ३–२ को सेटमा हराएको थियो । लिग चरणमा भारतसँग ३–१ को सेटमा पराजय बेहोरेको इरानले भने श्रीलंकालाई ३–२ तथा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले अघिल्ला खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै इरानलाई पराजित गर्न सफल भएको बताए ।

बुधबार हुने फाइनलमा नेपाल भारतविरुद्ध लिग चरणमा निकालेको जितलाई निरन्तरता दिने उद्देश्यका साथ उत्रनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्ध यस अघिको जितलाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘आज इरानविरुद्धको खेलमा तीन सेटमा खेलेकाले भोलि पनि तीनै सेटमा भारतलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।’

आजै भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० को सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।फाइनल खेल भोलि साँझ ५ बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि खेल दिउँसो २ बजे सुरु हुनेछ । आज नेपाल र इरानबीचको सेमिफाइनल खेल हेर्ने दर्शकको साथ घरेलू टोलीले उत्साहका साथ पाएको थियो ।

प्रतिक्रिया