पेरिस । पेरिस ओलम्पिकमा अमेरिका र चीन बीचको प्रतिस्पर्धा अझ रोमाञ्चक मोडमा पुगेको छ । आइतबार स्वर्णमा चीनसँग बराबरी गर्दै तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका फेरि दोस्रो स्थानमा झरेको छ ।
सुटिङको २५ मिटर ¥यापिडमा चीनका ली यो हाङले स्वर्ण पदक जिते । दक्षिण कोरियाका चो याङ हाईले रजत तथा चीनका वाङ जिनले कास्य पदक जिते । ब्याडमिन्टनको महिला एकलमा दक्षिण कोरियाका आन से यङले चीनकी हे विङ जाओलाई हराउँदै स्वर्ण पदक जितिन् ।
जिम्न्यास्टिकको पुरुष प्यारालल बारमा चीनकी झाङ जाओ जियानले स्वर्ण, युक्रेनका इलिया केभ्टिनले रजत तथा जापानका ओका सिनसुकेले कास्य पदक जिते । महिला ब्यालेन्स बिममा इटालीकी इलास डि माटोले स्वर्ण, चीनकी झोउ याकिनले रजत तथा इटालीकी मनिला इस्पोसिटोले कास्य पदक जिते ।
पुरुषको हरिजेन्टल बारमा जापानका ओका सुनसुकेले स्वर्ण पदक जिते । सो स्पर्धामा कोलम्बियाका एन्जल बारजासले रजत तथा चीनका झाङ बोयङ र ताइपेइका टाङ चियाङ हङले कास्य पदक जिते । यस वर्षको तेज व्यक्ति भने अमेरिकाका नोह लायस भए । आइतबार भएको १०० मिटर दौडमा ९ दशमलव ७९ सेकेन्ड समयका साथ लायसले स्वर्ण पदक जितेका हुन् । दौडको अधिक समय थोम्सनले अग्रता कायम गरे पनि अन्तिम समयमा लायसले गति बढाएर फोटो फिनिसमा सफलता पाएका हुन् । अमेरिकाका फ्रेड केर्लीले ९ दशमलव ८१ सेकेन्ड समयका साथ कास्य पदक जिते ।
एकपछि अर्को सफलता पाएका लायसले गत वर्षको विश्व च्याम्पियनसिपमा १०० र २०० मिटरको उपाधि जितेका थिए । सन् २०१५ पछि विश्व च्याम्पियनसिपमा सो सफलता पाउने पहिले व्यक्तिको रूपमा आफूलाई स्थापित गरेका थिए । उनी २०० मिटरमा लगातार ३ पटकको विश्व विजेतासमेत हुन् । सन् २००४ मा जस्टिन ग्याटलिनपछि अमेरिकाले पहिलोपटक १०० मिटरमा ओलम्पिक स्वर्ण पदक जितेको हो ।
आइतबार एथलेटिक्सको पुरुष ह्यमर थ्रोमा क्यानडाका इथान काटवर्गले स्वर्ण, हंगेरीका बेसेन हलास्जले रजत तथा युक्रेनका मिखाउल खोलाइनले कास्य पदक जिते । विश्व कीर्तिमानधारी युक्रेनकी यारोस्लोभा माखुखिचले महिला हाइजम्पको स्वर्ण पदक जितेपछि सो स्वर्ण पदक रुसको आक्रमणमा मारिएका ५०० जना युक्रेनी खेलाडीप्रति समर्पित गरेकी छन् ।
अस्ट्रेलियाकी निकाला साकालागर्सले रजत पदक जितेको सो स्पर्धामा युक्रेनकी आर्जा गारासचेन्कोले तथा अस्ट्रेलियाकी एलेना फिटर सनले संयुक्त रूपमा कास्य पदक जिते । यस संस्करणको ओलम्पिकमा पौडीको सम्पूर्ण स्पर्धा सकिएको छ । अन्तिम दिन भएको महिला ५० मिटर फ्रिस्टाइलमा स्विडेनकी सहरा जोसर्टमले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अस्ट्रेलियाकी मेगन ह्यारिसले रजत तथा चीनकी झाङ युफाइले कास्य पदक जितिन् ।
१५०० मिटरमा अमेरिकाका बबी फिन्केले विश्व कीर्तिमानसहित स्वर्ण पदक जिते । इटालीका जर्जी पेलेग्रेनीले रजत तथा आयरल्यान्डका डानियल विफेनले कास्य पदक जिते । पुरुषको मेड्ली रिलेमा चीनले अमेरिकालाई हराउँदै स्वर्ण पदक जित्यो । ओलम्पिकमा यो स्पर्धामा समावेश गरेदेखि अमेरिकाले हारेको पहिलोपटक हो । फ्रान्सले सो स्पर्धाको कास्य पदक जित्यो ।
महिला मेड्लीमा अस्ट्रेलियालाई हराउँदै अमेरिकाले स्वर्ण पदक जित्यो । सो रेसमा चीन तेस्रो भयो । अमेरिकाका रेगन स्मिथ, लिली किङ तथा ग्लेटचन वाल्सको ३ जनाको नाममा आफ्नो व्यक्तिगत विश्व कीर्तिमान छ । फेन्सिङको पुरुष टिम फोइलमा जापानले स्वर्ण, इटालीले रजत तथा फ्रान्सले कास्य पदक जिते । पुरुषतर्फ गल्फको स्वर्ण पदक अमेरिकाका स्कुटी सेफरले जिते । सो स्पर्धामा बेलायतका टमी फ्लेउडले रजत तथा जापानका मान्तुयामा हिडेकीले कास्य पदक जिते ।
इक्वेस्ट्रियनको व्यक्तिगत ग्रान्डप्रिक्समा जर्मनीले शीर्ष २ स्थान पाउँदा बेलायतका चार्लेट फ्राइले कास्य पदक जिते । टेनिसको पुरुष एकलमा सर्बियाका स्टार खेलाडी नोभाक जाकोभिकले स्वर्ण जितेका छन् । उनले फाइनलमा स्पेनका कालोर्स अल्काराजले कास्य पदक जिते । महिला युगलमा इटालीका इरानी र पावोलीनीको जोडीले स्वर्ण पदक जितेको छ । सो स्पर्धामा स्वतन्त्र खेलाडी आन्द्रेभा र स्नाइडरले रजत तथा स्पेनका बुसका र सर्बे टर्नोजको जोडीले कास्य पदक जितेको हो ।
साइक्लिङको महिला रोड रेसमा अमेरिकी क्रिस्चियन फल्कनरले स्वर्ण पदक जितिन् । नेदरल्यान्ड्सकी मारियन भोसले रजत तथा बेल्जियमकी लोटे कोपेकीले कास्य पदक जिते । टेबल टेनिसको पुरुष एकलको उपाधि स्विडेनका ट्रल्स मोरेगार्डलाई हराउँदै चीनका फान झेडङले जितेका छन् ।
सुटिङको महिला एकल स्किटको स्वर्ण पदक चिलीकी फ्रान्सिस्का कोभेर्टोले जितेकी छन् । बेलायतकी अम्बर जो रुटलरले रजत तथा अमेरिकी अस्टिन जोओल स्मिथले कास्य पदक जितेकी छन् । ब्याडमिन्टनको पुरुष युगलमा चीनका लाङ र वाङलाई हराउँदै ताइवानी जोडी ली र वाङले स्वर्ण पदक जितेको छ । सो स्पर्धामा मलेसियाका चाइ र सोनले कास्य पदक जिते । ब्याडमिन्टनका २ स्पर्धा बाँकी छन् । ओलम्पिकमा एथलेटिक्सको स्पर्धा सुरु हुनुभन्दा केही दिनअघि साविक विजेता इटालीका जियानमारो टम्बेरी अस्पताल भर्ना भएका छन् । उनको मिर्गौलामा समस्या भएको अनुमान छ ।
यस ओलम्पिकमा ठुला देश शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेको समयमा साना देशहरूका उपलब्धि पनि चर्चाका विषय बनेका छन् । अल्जेरियाले जिम्न्यास्टिकमा महत्वपूर्ण सफलता पाएको दिन केप भर्डेका मुक्केबाज डेभिड डे पिनाले कास्य पदक जितेका छन् । यसै गरी क्यामरुनका जन्मिएर शरणार्थी टोलीमा स्थान पाएकी सिन्डी नागामाले पनि पदक जितेकी छन् ।
नाइजेरिया महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नाइजेरिया ओलम्पिकमा बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी टोली हो ।
प्रतिक्रिया