काठमाडौं । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत शनिबार भारतलाई हराएर उच्च मनोबलमा रहेको नेपाल आज (आइतबार) इरानसँग भिड्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा उक्त खेल आज साँझ ५ः१५ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ । उता इरान भने घरेलु टोली नेपाललाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा उक्लने दाउमा हुने छ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । त्यस्तै तीन खेल खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ । समान तीन खेल खेलेको भारत ७ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ । नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भने नेपालले शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो ।
इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो । श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा हारेको थियो । आजै हुने पहिलो खेलमा श्रीलंका र मालदिभ्स खेल्ने छन् ।
उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । मालदिभ्स र श्रीलंका पहिलो जितको खोजीमा छन् । शनिबार भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ भने इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।
इरानलाई हराएमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेको छ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ ।
प्रतिक्रिया