पर्वतमा झण्डै ९५ प्रतिशत धान रोपाईँ

पर्वत । पर्वतको मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानवाली रोपाईँ अन्तिम चरणमा पुगेको छ । साउन दोस्रो सातासम्म पर्वतमा झण्डै ९५ प्रतिशत खेतमा रोपाईँ सकिएको हो । अझै पाँच प्रतिशत खेतमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । समयमै मनसुन सुरु भए पनि मध्यअसारतिर परेको अत्याधिक वर्षा, बाढी पहिरो जस्ता घटनाले रोपाईँमा ढिलाई भएको हो ।

सिँचाईको सुविधा भएका र खोलानालाका आसपासमा रहेका अधिकांश स्थानमा असारको दोस्रो साताभित्रै रोपाईँ सकिएको थियो भने मकै र चैते धान लगाएका र ढिलो रोपाईँ हुने ठाउँमा रोपाईँ चलिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जानकारी दिएको छ ।

धेरैजसो स्थानमा मकै थन्काएर धान रोप्ने भएकाले किसानहरु रोपाईँ ढिलो गरी सुरु गरेका हुन् । ज्ञान केन्द्रका अनुसार जिल्लाको जलजला, मोदी र महाशिला गाउँपालिकामा कृषकले रोपाईँ सिध्याएका छन् भने पैयुँ, फलेवास, विहादी र कुश्मा नगरपालिका केही स्थानमा छिटफुट कृषकहरुको खेतमा रोपाईँ बाँकी रहेको हो ।

जिल्लाका उत्पादनयोग्य भूमिमा मकै खेतीपछि धान खेती हुने गरेको छ । खोल्साखोल्सी भएका, मकै खेती नगरिएका, बाँझो छाडिएका, एक बाली मात्रै खेती गरिने जस्ता ठाउँहरूमा जेठको अन्तिम साता वा असारको पहिलो सातादेखि नै रोपाईँ हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका वागवानी विकास अधिकृत शंकर पौडेलका अनुसार अबको केही दिनमा जिल्लाभर रोपाई सकिने अनुमान छ । गत वर्ष जिल्लाको सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यो वर्ष पनि यही क्षेत्रफल बराबरकै रोपाईँ हुने अनुमान गरिएको उनको भनाई छ ।

धान खेती हुनेमध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको पौडेलले बताए । जिल्लाका कतिपय ठाउँमा समयमै विऊ छर्न नपाएका कारण पनि रोपाईँमा ढिला भएको हो ।

पर्वतमा गत वर्ष करिब २६ हजार ३३ मेट्रिक टन धान उत्पादन भएको थियो । पर्वतको फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धान खेती हुने गरेको छ ।

यस क्षेत्रमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिड लगायतका जातका धान लगाउने गरिएको छ ।

प्रतिक्रिया