फ्रान्सको पेरिसमा ओलम्पिक खेलकुदमा भव्य रूपमा उद्घाटन भयो । यो ओलम्पिकमा संसारका २०६ देशका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
सेन नदीमा भएको ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा संसारका १ हजारभन्दा बढी खेलाडी उपस्थित थिए । सो समारोहमा लेडी गागालगायत कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।
एउटा महोत्सव हो, जहाँ संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश भारतदेखि संसारकै कम जनसंख्या भएको देशहरूको समेत सहभागिता छ ।
ग्रेस नोटले ३ महिनाअघि नै सम्भावित पदक तालिका सार्वजनिक गरेको छ । स्वर्ण पदक दाबेदार मानिएका सानो टापु फिजीले रग्बी सेभेनमा विजयी सुरुआत गरिसकेको छ । त्यसो त प्युरेटिका, डोमेनिक गणतन्त्र र बहमासजस्ता संसारका अत्यन्त साना देशले पनि यस ओलम्पिकमा पदकको आशा गरेका छन् । यी देश आशा गरेकोजस्तो पदक पाउलान् या नपाउलान् अनिश्चित छ । तर, पदकको नजिक पुग्ने कुरामा कुनै शंका छैन ।
युद्धबाट उम्किएर सामान्य जीवन बिताउन सुरु गरेका कोसोभो, अफगानिस्तान, सर्बिया र बोस्निया हर्जगोभिनाले पनि आफ्नो उपस्थिति देखाउनेछन् । अहिले ग्रामीण कृषिलाई आधार मानेर दिनदिनै उन्नतिको पथमा लम्किए पनि केही वर्ष अघिसम्म संसारको गरिब देशको सूचीमा रहेर पनि इथोइपियाले लामो दुरीको दौडमा आफूलाई वर्षौंअघि नै शक्ति राष्ट्रको रूपमा स्थापित गरेको थियो ।
ओलम्पिक यस्तो खेल महोत्सव हो, जहाँ धनी देशले पनि जितेका छन् । गरिब देशले पनि जितेका छन् । साना देशले पनि जितेका छन् । कठिन सामाजिक परिवेश भएका तथा युद्धको त्रासदीबाट मुस्किलले उम्कनेहरूले पनि कहीँ न कहीँ सफलता पाएका छन् ।
यसै ओलम्पिकमा नेपालको पनि सहभागिता छ । जनसंख्याको आधारमा संसारको ४९औँ ठुलो देश मात्र सभ्यताको आधारमा संसारको प्राचीन सभ्यता भएको देश पनि हो । नेपालको हकमा भने पदकको त कुरै छाडौँ कुनै एउटा खेलमा जित हात पार्ने सम्भावना पनि अत्यन्त न्यून छ ।
नीतिहीन राज्य सत्ता, मानिसको प्रतिभा र प्रकृति प्रदत्त क्षमताभन्दा बढी आर्थिक हैसियतलाई सर्वोपरि ठान्ने सामाजिक सत्ता र व्यक्तिगत लाभका लागि कुनै हरकत गर्न बाँकी नराख्ने खेल सत्ता भएको नेपालको भने कुनै पनि पदकको सम्भावना छैन ।
नेपालका ७ जना खेलाडीको सहभागिता छ । ७ मध्ये १ जनाले छनोट चरण पार गरेर गएका हुन् । अन्य सबै वाइल्ड कार्डमार्फत भएका हुन् । यसको मतलब अन्य कसैको पनि ओलम्पिक खेल्ने योग्यता भएर खेलेको होइन । योग्यता भएका खेलाडीहरूको ‘इन्ट्री’ सकिएपछि बाँकी रहेको कोटामा वाइल्ड कार्डमार्फत सहभागी गराउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को मापदण्ड अनुसार ती खेलाडी सहभागी भएका हुन् ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण भएपछि रुस र रुसको समर्थनमा रहेको बेलारुसलाई अन्तर्राष्ट्रिय खेल क्षेत्रले प्रतिबन्ध लगाएको छ । यसै प्रतिबन्धका कारण पनि धेरै कोटा खालि भएका हुन् । पौडी र एथलेटिक्समा भने संसारका कुनै पनि देशलाई कमसेकम एउटा स्पर्धामा सहभागिताको मौका दिने नीति छ ।
नेपालबाट २१ जनाको टोली गएको छ । नेपाल ओलम्पिक कमिटीले जारी गरेको २१ जनाको टोलीमा अन्य ६ खेलाडीका प्रशिक्षक भए पनि ब्याडमिन्टनका प्रशिक्षक छैनन् । ब्याडमिन्टनका टिम अफिसियलमा राम जी बहादुर श्रेष्ठको नाम छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बारम्बार मुख्य प्रशिक्षक सुदीप योञ्जनलाई पठाउन प्रयास गरे पनि नेपाल ब्याडमिन्टन संघका अध्यक्ष राम जी बहादुर श्रेष्ठले त्यसलाई अटेर गरेका थिए ।
यसको रहस्य धेरैले नबुझे पनि अहिले आएर श्रेष्ठ आफैँ ब्याडमिन्टन संघको लेटर प्याड प्रयोग गरेर प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय निकायमा नाम पठाएको खुल्न आएको छ । श्रेष्ठ अहिले प्रिन्स दाहाल खेलेको स्थानमा पुगिसकेका छन् । उनी नै प्रशिक्षकको रूपमा रहने श्रेष्ठको अध्यक्षतामा रहेको ब्याडमिन्टन संघका केही पदाधिकारीले बताएका छन् ।
समाचार स्रोतका अनुसार एक पदाधिकारी र सदस्यले पनि व्यवस्थापकको भूमिकामा जान मन गरेका थिए । यसलाई रामजीले अस्वीकार गरेका थिए । यसको रहस्य प्रशिक्षकको रूपमा आफैँ रहने नै थियो ।
ब्याडमिन्टन संघ आफँै भने विवादरहित छैन । गत वर्ष भएको ब्याडमिन्टन संघलाई प्रक्रिया नपुगेको कारण जनाउँदै राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छैन ।
यत्ति मात्र होइन पौडी संघको तर्फबाट निर्वतमान अध्यक्ष अशोक बज्राचार्य टोकियो गएका छन् ।
८ वैशाखमा काठमाडौँमा भएको निर्वाचनमा बज्राचार्यले जगतमान श्रेष्ठलाई अध्यक्ष पदको हस्तान्तरण गरेका थिए । लामो समय पौडीको नेतृत्वमा रहेर पनि कुनै काम गर्न नसकेको कारण जनाउँदै बज्राचार्यको विरुद्धमा थिए ।
बज्राचार्यको विरुद्धमा पहिलोपटक सन् २००८ मा पनि बेइजिङ ओलम्पिकमा आफैँ मेनेजरको रूपमा गएको आरोप लागेको थियो । वल्र्ड एक्वेटिक्समाट प्राप्त हुने वार्षिक २५ हजार डलर कार्यक्रम सञ्चालनका लागि आउने भए पनि पौडी संंघको व्यवस्थित कार्यालयसमेत छैन । यसको विरुद्धमा बारम्बार आवाज उठे पनि उनले त्यसबारे अहिलेसम्म चित्तबुझ्दो जवाफ दिएका छैनन् ।
८ वैशाखमा भएको निर्वाचनमा राखेपले निर्वाचन समिति बनाएको थियो । नेपाल ओलम्पिक कमिटीले रमेश सिवाकोटीलाई प्रतिनिधि पठाएको थियो ।
नेपाल पौडी संघले विज्ञप्ति नै जारी गरेर बज्राचार्यले पौडी संघको लेटर प्याडको दुरुपयोग गरेको जनाएको छ । राखेपबाट १४ जना पेरिस ओलम्पिकमा सहभागी हुँदै छन् । यस मध्येको ११ जनाको खर्च राखेपले बेहोर्दै छन् ।
नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको सन् १९६४ बाट हो । यसपछि नेपालले निरन्तर सहभागी गराउँदै आएको छ । सबैभन्दा लामो समयदेखि सहभागिता जनाएर कुनै सफलता नपाउने देश पनि नेपाल हो ।
नेपालको हकमा यो प्रचलन नयाँ भने होइन । गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा सम्बन्धित खेलमा सरोकार नै नभएकाहरूलाई मेनेजर बनाएर पठाइएको थियो । यसरी अवसर पाउनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघदेखि राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अधिकारीसमेत थिए ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका थुप्रै कीर्तिमान बनेका छन् । सन् १९७४ को इनडोर एसियन गेममा १ नेपाली कराते खेलाडी खेलभन्दा अघि शौचालय गएका कारण खेल नै गुमेको थियो । चेस खेलका खेलाडीसमेत सही समयमा खेल स्थलमा नपुगेका कारण खेल गुमाएका थिए ।
अन्य समय नेपाली खेलकुदमा चासो नराख्नेहरू पनि बृहत् खेलमा विशेष चासो राख्नेहरूको संख्या कम छैन । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा धेरै पदाधिकारी भएको भन्दै विमानस्थलमै विरोध प्रदर्शन भएको थियो । सो विरोध प्रदर्शनको समयमा धेरै पदाधिकारी रातारात लुकेर गएका थिए ।
नेपालमा राजनीतिक अवस्था जटिल थियो । तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपालको पद रहने या नरहने भन्नेमा आशंका थियो । यसका बीच उनी भागेर गएका थिए । नेपाल यी नै व्यक्ति हुन्, जसले नेपालको राजनीति विकृति भयो भन्दै अन्य नेताको विरुद्धमा आवाज उठाउने गर्छन् ।
नेपालको अवस्था यत्तिसम्म हुने गरेको छैन । एथलेटिक्स र पौडीजस्ता खेलमा अन्य देशका खेलाडीले दुरी पूरा गरेर खुसीयाली मनाइरहँदा नेपालीहरू दौडीरहेको तथा पौडीरहेको दृश्य सामान्यजस्तो हुने गरेको छ ।
जुडोमा सुरुआती ५ मिनेट रिङमा टिकेको अनुभव छैन । सधैँ पहिलो चरणमा नै नकआउट हुने कीर्तिमान पनि नेपालको नाममा छ । नेपालको तर्फबाट अहिलेसम्म चर्चा गर्न लायक प्रदर्शन तेक्वान्दोकी निशा रावलले गरेकी छन् । उनी रियो ओलम्पिकमा विश्व वरीयता क्रमको शीर्ष स्थानमा रहेकी खेलाडीसँग पहिलो चरणमा झिनो अन्तरले पराजित भएकी थिइन् । यसका अलावा ओलम्पिक खेलकुदमा नेपालको कुनै पनि सकारात्मक उपस्थिति अहिलेसम्म भएको छैन ।
प्रतिक्रिया