काठमाडौं । बागमतीका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । केन्द्र सरकारमा प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेपछि मुख्यमन्त्री जम्कट्टेलले आइतबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम फेरि अर्को नयाँ सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसैबीच नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्नेगरी उनीहरुले दावी पेसको तयारी गरेका छन् ।
प्रतिक्रिया