‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ बनाउने

काठमाडौँ । चर्चित टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले ‘लाज शरणम्’ बनाउने भएको छ । यस सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल जिग्रीको जन्मदिनको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । यस फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् । सुदीप बरालको छायांकन रहने यस फिल्मबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्दैछन् ।

जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले फिल्मको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् । सक्किगोनी टिमबाट को को कलाकार रहने र अन्य कलाकारहरु विस्तारै सार्वजनिक गरिने बताइएको छ । यो फिल्म आगामी वर्षको फागुन १४ गते अर्थात् महाशिवरात्रीको अवसरमा रिलिज हुनेछ ।

फिल्मको निर्माण घोषणा कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्यदेखि दीपाश्री निरौला, प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा लगायतका चलचित्रकर्मीहरुको उपस्थिति थियो । यस्तै घोषणा कार्यक्रममा कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।

प्रतिक्रिया