क्यानडामा नेपाल फेस्टिभल

ओटावा । क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको प्रस्तुतिमा ७ जुलाईमा सम्पन्न महोत्सवमा ५ हजारभन्दा बढी नेपालीको उपस्थिति थियो ।

महोत्सवमा सहभागीले नेपाली गीतसंगीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, र नेपाली खानाका परिकारहरू रुचाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए ।

निःशुल्क प्रवेश रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारू, मधेसीलगायत विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो ।
गायक हिमाल सागरसँगै कलाकार देविका केसी, मानसिंह खड्का, हिमालयन भाइब्स ब्यान्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा नचाए । गायक हिमाल सागर महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए ।

उनले क्यानडामा रहेका नेपाली माँझ प्रस्तुति दिन पाउँदा छुटै अनुभूति भएको बताए । ‘प्रवासमा पाइने माया र आफ्नोपनलाई शब्दमा व्यक्त गर्न सकिँदैन । महोत्सवमा नेपाली गीतसंगीत र नेपालप्रति दर्शाउनुभएको माया अद्भूत छ । प्रवासमा रहेका नेपालीलाई थोरै भए पनि नेपालको न्यास्रो मेटाउने काम यस्ता महोत्सवले गरेको छ, जस्तो लाग्छ’, हिमालले भने ।

लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । क्यानडामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाको सहकार्यमा सम्पन्न महोत्सवले नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामीप्यता बढाउन सफल भएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया