हरारे । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी–२० खेलमा जित हात पारेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८ दशमलव ४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो ।
जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्वाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३–३ विकेट लिएका थिए । रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले १ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी–२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए ।
रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए । जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुनेछ ।
सो खेलमा खेलमा भारतका युवा ब्याटर अभिषेक शर्मा नायक बने । धुवाँदार ब्याटिङ गरेका उनले भारतका लागि कीर्तिमानी शतक बनाए । ४७ बलमाको सामना गर्दै उनले १०० रन जोडेका हुन् । वेलिङटन मसाकाड्जाको बलमा आउट हुनअघि उनले ७ चौका र ८ छक्का प्रहार गरे । उनी खेलमा प्लेयर अफ द म्याचसमेत चुनिए ।
सो खेलमा थुप्रै कीर्तिमान पन बने । अभिषेक शर्मा पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ३ छक्का हिर्काउँदै शतक पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । यसअघि शुभमन गिलले सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध लगातार २ छक्का हिर्काउँदै २०० रनको स्कोरमा पुगेका थिए ।
अभिषेकलाई शतक भारतीय खेलाडीको टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा तेस्रो चाँडो शतकको बराबरी हो । उनीभन्दा अघि रोहित शर्माले सन् २०१७ मा ३५ बलमा र सूर्यकुमार यादवले सन् २०२३ मा ४५ बलमा शतक बनाएका छन् । दुवै खेलाडीले श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । केएल राहुले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्ध ४६ बलमै शतक हिर्काएका थिए ।
अभिषेकले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा नै शतक बनाए । कुनै पनि आईसिसीका पूर्णकालीन सदस्य राष्ट्रका खेलाडीले यति चाँडो शतक बनाएका हो । उनले भर्खरै भारतको राष्ट्रिय टी–२० टोलीबाट डेब्यु गरेका हुन् । यसअघि एभिन लेविसले भने अभिषेकजस्तै पहिलो खेलमा शून्यमा आउट भएर दोस्रो खेलमा शतक हिर्काएका थिए । रिचार्ड लेभीले पनि दोस्रो पारीमा शतक बनाएका थिए ।
जिम्बाब्वेका स्पिनरविरुद्ध अभिषेकले ६५ रन प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका लागि यो सर्वाधिक रनको रेकर्ड हो । यसअघि सन् २०१२ मा युवराज सिंह पाकिस्तानी स्पिनरविरुद्ध ५७ रन बनाएका थिए । अभिषेकले ती ६५ रन २८ बलमा २३२ दशमलव १४ रनको औसतले जोडेका थिए । यस क्रममा उनले ६ वटा छक्का र ४ वटा चौका हिर्काएका थिए ।
आठौँ ओभरमा क्याच ड्रप भएपछि अभिषेकले ३१७ दशमलवको ३९ को स्ट्राइक रेटमा रन बनाए । अन्तिम २३ बलमा उनले ७२ रन जोडेका थिए । यसमा ७ छक्का र ५ चौका समावेश छ । उनले पहिलो २४ बलमा २८ रन मात्र बनाउन सकेका थिए । यसमा ३ बाउन्ड्री मात्र थियो ।
अभिषेकअघि जिम्बाब्वेमा टी–२० अन्तर्राष्ट्रिय खेलमा शतक बनाउने खेलाडीको संख्या ३ थियो । यसअघि सन् २०१८ मा एरोन फिन्चले हरारेमा विश्व कीर्तिमानी १७१ रन बनाएका थिए । सन् २०२२ मा स्टिभन टेलरले जर्सीविरुद्ध १०१ रन बनाएका थिए ।
हरारेमा भारतले बनाएको २३४ रन सर्वाधिक हो । सन् २०१८ मा अस्ट्रेलियाले २ विकेटको क्षतिमा २२९ रन बनाएको थियो । यो कुनै पनि टोलीले जिम्बाब्बेमा बनाएको दोस्रो ठुलो स्कोर पनि हो । यसअघि सन् २०२२ मा जिम्बाब्वेले सिंगापुरविरुद्ध ५ विकेटको क्षतिमा २३६ रन बनाएको थियो ।
आइतबारको खेलमा भारतले अन्तिम १० ओभरमा १६१ रन बनाएको थियो । अन्तिम १० ओभरमा टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको तेस्रो धेरै रन हो । नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध अन्तिम १० ओभरमा १९२ रन बनाएको थियो भने सोही वर्ष जापानले चीनविरुद्ध १६१ रन बनाएको थियो ।
प्रतिक्रिया