मोदीबेनीको पहिलो गीत सार्वजनिक

काठमाडौँ । १८ साउनमा रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । सुन्धारास्थित हलमा सोमबार एक कार्यक्रमको आयोजना गरी ‘मन्जुरी’ शीर्षकको गीत सार्वजनिक गरिएको हो ।

गीतमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठलाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरूको प्रेमको सुरुआत र रोमान्स भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको छ । यो गीतको संगीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन् । संगीत निर्माता रिकेश गुरुङ हुन् ।
नव नायक श्रेष्ठले अनुभवी नायिकासँग सहकार्य गर्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए । साथै, उनले कलासहितको अभिनेता बन्ने लक्ष्य रहेको सुनाए ।

नायिका वर्षाले नायक अमरको कामको तारिफ गरिन् । यस फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । कार्यक्रममा चलचित्रका निर्देशक शंकर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया