काठमाडौँ । कोरियन पप संगीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वल्र्ड फेस्टिभल’ सम्पन्न भएको छ । सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्षित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको कार्यक्रम आयोजना गर्ने गरेको छ ।
नेपालमा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपालस्थित गणतन्त्र कोरियाली राजदूत पार्क ताय–योङले स्वागत मन्तव्यका क्रममा २ देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ स्वर्ण जयन्तीका अवसरमा के–पपका साथसाथै कोरियाली भाषा, संस्कृतिको माध्यमबाट कोरिया र नेपालबीच जनस्तरको सम्बन्ध मजबुत हुँदै गएको बताए ।
उनले भने, ‘कोरियाली संस्कृतिप्रति नेपाली जनतामाझमा एक अद्वितीय सद्भाव छ । यहाँ के–पप मात्र नभई भाषा, नाटक र परिकारका लागि पनि ठूलो लगाव छ । कोरियाप्रतिको सद्भाव, कोरियाली भाषा, संस्कृतिप्रतिको सम्मानलाई मध्यनजर गर्दै थप सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध विस्तारका लागि दूतावासले विभिन्न सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने योजनामा रहेको छ ।’
उनले कोरियाको छाङवोन सहरमा हुने अन्तिम प्रस्तिस्पर्धामा नेपाली समूह सहभागी हुने विश्वास व्यक्त गर्दै शुभकामना दिए । यसवर्ष प्रारम्भिक चरणको छनोट प्रक्रिया अनलाइनमार्फत २३ जेठदेखि ९ असारसम्म आयोजना गरिएको थियो । जहाँ ३० भन्दा बढी टिमले आफ्नो रोजाइको कोरियन पप संगीतमा तयार गरिएको गायन तथा नृत्यको श्रव्यदृश्य पठाएर प्रतियोगितामा सहभागिता जनाएका थिए । त्यसमध्ये नृत्य समूह, एकल नृत्य, गायनसहित छनोट भएका बाह्र टोलीले सोमबार भएको महोत्सवमा आफ्नो प्रस्तुति दिए ।
उनीहरूमध्ये समूह नृत्यतर्फ अरेलिया समूह, गायनतर्फ अञ्जली नेपाली र एकल नृत्यतर्फ सम्राट सुनुवार छनोट हुनुभयो । छनोट भएकाको प्रस्तुतिको श्रव्यदृश्यलाई अन्तिम मूल्यांकनका लागि कोरिया पठाइनेछ । उल्लिखित ३ मध्ये छनोट हुनेले कोरियामा हुने ‘के–पप वल्र्ड फेस्टिभल’ आफ्नो प्रस्तुति दिँदै प्रतिस्पर्धा गर्न पाउनेछन् । पछिल्लो समय सन् २०१६ मा नेपालबाट मंगोलियन नाम्जा नामक नृत्य समूहले उक्त महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका थिए । नेपाली युवाहरूमा कोरियन पपप्रति देखिएको आकर्षणलाई महत्व दिँदै दक्षिण कोरियाले नेपाली कलाकारलाई यस किसिमका कार्यक्रममा सहभागिता जनाउने अवसर प्रदान गर्दै आएको जनाइएको छ । नेपाल र दक्षिण कोरियाबीच पछिल्लो समयमा जनस्तरको सम्पर्क बढ्दै जाँदा यस किसिमका सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण स्थान लिएको र २ देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने राजदूतावासले जनाएको छ ।
प्रतिक्रिया