चलचित्र ‘चिठ्ठी’लाई पिजी सर्टिफिकेट

काठमाडौं । चलचित्र ‘चिठ्ठी’ले पिजी सर्टिफिकेट प्राप्त गरेको छ । एरा प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्र चिट्ठीको सिंहदरवारस्थित केन्द्रीय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ ।

केन्द्रीय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । अब यस चलचित्र १६ वर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने निर्देशक माधवराज खरेलले जानकारी दिए ।

कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई सञ्चारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् । माधवराज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माता जोशीले बताइन् ।

चलचित्र चिट्ठीमा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर (खबपु), गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा वरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा सञ्चारकर्मी सरोज कोईरालाले संगीत भरेका छन् । चलचित्रमा शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा. कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डवसमेत रहेको छ, जसको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँले गरेका हुन् ।

जीवन पराजुली एवम् राजन खरेलको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खान प्रोमा डिजाइनरका रहेका छन् ।

चलचित्रलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने समिर मियाँको भिएफएक्स रहेको छ । चलचित्रमा पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।

प्रतिक्रिया