मण्डलामा म्याडफेस्ट–२०२४

काठमाडौँ । मण्डला थिएटरका पूर्वविद्यार्थीहरूले आयोजना गरेको नाटक महोत्सव ‘म्याडफेस्ट २०२४’ सुरू भएको छ । संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘रेलवे टू नो ह्वेयर’ को मञ्चनसँगै महोत्सवको उद्घाटन गरिएको हो । ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षक झैं युवाहरुको जोश जाँगरले नै महोत्सव सम्भव बनेको बताए ।

सुरुमा एउटा आइडिया मात्र थियो । सबैजना जोडिएपछि यो महोत्सव सम्भव भयो। दामी–दामी नाटकहरू तयार भएका छन् । फेस्टिभलको नाम पनि म्याड, यो खासमा एउटा पागलपन नै हो । हामीले हाम्रा लागि अवसर खोजौँ न भन्ने हेतुले यो फेस्ट सुरु गरेका हौँ’ निर्देशक न्यौपानेले भने ।

अभिनेत्री पशुपति शर्माले युवा रंगकर्मीलाई यस किसिमको महोत्सवले निरन्तर उत्साह दिने बताइन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल काठमाडौँसँग रंगमञ्चको सम्बन्ध पहिल्यैदेखि रहेको भन्दै ‘म्याडफेस्ट’को निरन्तरताको कामना गरिन् ।

‘काठमाडौँसँग रंगमञ्चको सम्बन्ध नजिकको छ । काठमाडौँमा पहिल्यैदेखि डबलीमा नाटक हुने गरेको थियो । यस किसिमको नाटक महोत्सव भइरहनुपर्छ। म्याडफेस्ट गर्ने म्याडनेस बढ्दै जाओस्’ सुनिताले भनिन्, ‘यस किसिमको महोत्सवमा सहकार्य गर्न काठमाडौँ महानगरपालिका सँधै तयार छ ।’

मण्डलाका थुप्रै कलाकारलाई वर्षौं खानारखाजारचिया खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो । आफूले खानारचिया खुवाएका कलाकारले गरेको यस्तो महोत्सव सहभागी हुँन पाउँदा उनी खुशी देखिए ।
‘मकहाँ खाना खाने साना–साना भाईबहिनी ठूला भएर यस्तो ठूलो कार्यक्रम गर्ने भइसकेछन्,’ मामाले भने ।

रंगकर्मी केदार श्रेष्ठले त मामाले मण्डलाका कलाकारलाई पुर्याएको योगदानको कदर गरिनुपर्ने बताए । ‘मण्डलाका अहिलेका कलाकारलाई संघर्षको बेला एक छाक खान गाह्रो पर्दा मामाले सँधै खाना खुवाउनुहुन्थ्यो । र, पैसन छैन भन्दा उहाँले कमाएर तिर्नु भन्नुहुन्थ्यो,’ केदारले भने ।

आइतबार सम्म चल्ने यो महोत्सवमा छ नाटक देखाइनेछन् । महोत्सवमा अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ मन्चन हुनेछन् ।

प्रतिक्रिया