प्रदीप र मिरुना उत्कृष्ट

काठमाडौँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री मिरुना मगर उत्कट अभिनेता–अभिनेत्री २०२४ घोषित भएका छन् । बुधबार सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’मा प्रदीप ‘प्रेम गीत–३’बाट उत्कृष्ट अभिनेता चुनिँदा मिरुनाले ‘जारी’ फिल्मबाट उत्कृष्ट अभिनेत्री ठहरिएकी हुन् ।
नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुति, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको आयोजनामा सिटी सिनेमा कोसी प्रदेश विराटनगरमा बुधबार साँझ सम्पन्न फेस्टिभलमा वेस्ट निर्देशक फिचर फिल्म सन्तोष सेन र स्वर्गीय चेतन गुरुङ, वेस्ट माउन्टने फिल्म ‘प्रेम गीत–३’, बेस्ट टुरिजम फिल्म ‘मन्त्र’, वेस्ट जुरी अवार्ड ‘विच्छेद’, बेस्ट कल्चर फिल्म ‘जारी’, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म क्यानडाको ‘लभ, लस्ट र फाउन्ड’, बेस्ट फिचर फिल्म नेपालको अवार्ड ‘बुलाकी’ले हात पार्यो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, चलचित्रकर्मी महासंघ कोसी प्रदेशको अध्यक्ष अरुण प्रधानलगायतले विजेतालाई अवार्ड प्रदान गरे । वन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेको २ दिने फेस्टिभलका लागि नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेश गरी ५ देशबाट जम्मा ४३ चलचित्र प्राप्त थिए । फिचर, डकुमेन्ट्री, सर्ट मुभी गरी ५ देशका २४ चलचित्र महोत्सवमा सहभागी थिए ।

पर्यटन, कल्चर, माउन्टेन र पर्यावरणसँग सम्बन्धित वा ती विषयवस्तु समेटिएका चलचित्रहरू मात्र फेस्टिभलमा सहभागी गराइएको फेस्टिभलका चियरमेन तथा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बताए । चलचित्र विकास बोर्डको सहकार्यमा किङडम इन्टरनेसनल र डब्लुसिसिएन सहयोगी संस्थाको रूपमा जोडिएको फेस्टिबलले नेपाली कलाकृति तथा पर्यटनका विकास बिस्तारमा टेवा पुग्ने फेस्टिभलका निर्देशक अरुणकुमार प्रधानले बताए ।

सो अवसरमा फिल्म क्षेत्रमा सक्रिय धेरैलाई सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेपाल अध्यक्ष दयाराम पाण्डे, निर्देशक तथा इनास नेपाल च्याप्टरका उपाध्यक्ष ऋषि लामिछाने, निर्देशक समाजका कोषाध्यक्ष समुन्द्र भट्ट, निर्देशक कमल एक्चै मगर र निर्देशक समाजका सदस्य सत्यराज चौलागाईं सम्मानित भए । सम्मानित हुने अन्यमा पर्शुराम चौधरी, फिल्म निर्माता चिरञ्जीवी बस्नेत, केशव रायमाझी, चलचित्र विकास बोर्ड आदिवासी, जनजाति, मातृभाषा प्रवद्र्धन समिति–संयोजक ज्योतिराज राई र गायक श्रीकृष्ण लुईंटेल समावेश थिए । रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा ‘चलचित्र सम्मान २०२४’बाट फिल्म निर्माता निर्देशक सन्तोष सेन, ओएसार डिजिटलका सञ्चालक ओम अग्रवाल सम्मानित भए ।

कार्यक्रममा अभिनेता सुवास मेचे, निर्देशक इन्द्र परियार, अभिनेत्री निलम खवास, अभिनेता राजेन्द्र भगत, शारदा शाक्य अभिनेत्री, अभिनेता सानुबाबा सुब्बा, एक्सन निर्देशक हेमनारायण राजवंशी, निर्देशक दीपनरायण रजबंशी, र अभिनेत्री रेनु चौधरीले प्रदेश कलाकार सम्मान प्राप्त गरे ।
कार्यक्रममा अनुज सापकोटा, वीरेन्द्रकुमार शाह, सुमन भट्टराईले कदर पत्र प्राप्त गरेका थिए । फेस्टिभलले आगामी वर्षमा पनि निरन्तरता पाउने आयोजकले कार्यक्रममा जानकारी दिएको थियो ।

प्रतिक्रिया