युएस एमच्योरमा सद्भाव

काठमाडौँ । नेपालका शीर्ष वरीयताका एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा २ प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गरका छन् । सद्भावले १२४औँ संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाइङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । १८ वर्षीय सद्भावले युनाइटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन् ।


सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फरसमेत बन्नेछन् । १२४औँ युएस एमेच्योर च्याम्पियनसिप १२ देखि १८ अगस्टसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउनेछन् । अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी २९ अगस्टदेखि १ सेप्टेम्बरसम्म फ्लोरिडास्थित टिपिएस सग्रसको दि प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा नेपाल गल्फ संघले जनाएको छ ।

२ प्रतियोगितामा सहभागितासँगै अमेरिकामा सद्भावले विशेष प्रशिक्षण गर्नेछन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग ३ महिना प्रशिक्षण लिनेछन् ।

२ पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीन वटा प्रमुख उपाधि जितिसकेका छन् । सद्भावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सद्भावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजनमा २ वटा उपाधि जित्दै टुरमा कुल उपाधि संख्या ३ पुराएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले २ प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै सद्भावलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभई सिगो राष्ट्रका लागि गर्वको कुरा भएको बताए ।

प्रतिक्रिया