कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल आजबाट

न्यूयोर्क । नेपाली समयअनुसार शुक्रबार बिहान पौने सातमा विश्व विजेता अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि इक्वेडरसँग खेल्नेछ । तिघ्रामा लागेको चोटका कारण पेरुसँगको खेल गुमाएका अर्जेन्टिनाका कप्तान इन्टर मियामीका फरवार्ड लियोनेल मेसीको उपस्थिति अनिश्चित नै छ ।

दोस्रो क्वार्टरफाइनल खेल भेनेजुएला र क्यानडाका बीचमा नेपाली समयअनुसार शनिबार बिहान हुनेछ । कोलम्बियाले पानामा तथा ब्राजिलले उरुग्वेसँग खेल्नेछ ।

पहिलो चरणमा ३ खेलमा नै सफलता पाएको अर्जेन्टिना यसपटक उपाधिको प्रबल दाबेदार हो । सन् २०२१ को कोपा अमेरिका कप फुटबलमा ४ गोल गर्दै शीर्ष गोलकर्ता भएका मेसीले यस संस्करणमा कुनै गोल गरेका छैनन् । ३ खेलमा ४ गोल गरेका इन्टरमिलानका फरवार्ड लाउटारो मार्टिनेज गोल्डेन बुटको रेसमा सबैभन्दा अघि छन् । उनले क्यानडा र चिलीको विरुद्धमा ८८आँै मिनेटमा गोल गरेका थिए भने पेरुसँगको खेलमा दुवै गोल गरेका थिए ।

इक्वेडरसले समूह चरणको खेलमा १ जित, १ हार तथा १ बराबरीसहित दोस्रो स्थान पाएको हो । पहिलो चरणमा नै भेनेजुएलासँग ३–१ ले पराजित इक्वेडर जमैकालाई ३–१ ले हराउन सफल भएको थियो । अन्तिम खेलमा मेक्सिकोसँग गोलरहित बराबरी गर्दै इक्वेडर अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अमेरिकी प्रशिक्षक जेस मार्चको प्रशिक्षणमा रहेको क्यानडामा एमएलएस खेल्ने १४ खेलाडी छन् । चिलीसँग बराबरी गर्नुका साथै पेरुलाई हराएको क्यानडालाई हराउन अर्जेन्टिनालाई समेत हम्मेहम्मे परेको थियो । ट्रिनीडाड एन्ड टोबागोलाई हराउँदै चिली प्रतियोगितामा छनोट भएको हो ।
भेनेजुएला भने इक्वेडर मेक्सिको र जमैकालाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । यसअघिका ७० कोपा अमेरिका खेलमा भेनेजुएला ८ खेलमा मात्र विजयी भएको थियो ।

कोलम्बिया समूह चरणको खेलमा २ जित र १ बराबरीसहित पहिलो स्थान पाउन सफल भएको हो । पाराग्वेलाई २–१ ले हराएको कोलम्बियाले कोस्टारिकालाई ३–० ले हराएको थियो । पानामाले आश्चर्यजनक रूपमा अमेरिकालाई बाहिर पटाउँदै समूहमा दोस्रो स्थान पाएको हो । मेक्सिकोसँग भने ८८आँै मिनेटमा गोल खाएपछि १–० ले पराजित भएको थियो ।

समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलम्बियासँग १–१ गोलको बराबरीमा चित्त बुझाएको थियो । त्यसैगरी उरुग्वेले अमेरिकालाई १–० ले हराएको हो । विगतका अन्य सबै पक्ष छाडेर प्रतियोगितालाई मात्र हर्ने हो भने उरुग्वे लयमा रहेको टोली हो । आफ्नो समूहमा पहिलो भएर दोस्रो चरणमा प्रवेश गरेको हो भने ब्राजिल दोस्रो भएर नकआउट चरणमा प्रवेश गरेको हो । तसर्थ नकआउट चरणमा पक्कै पनि उरुग्वेलाई बलियो मान्न सकिन्छ ।

यसअघि नै अभ्यास खेलमा मेक्सिकोलाई ४–० ले हराएको उरुग्वेले प्रतियोगितामा भएका ३ वटै खेलमा सफलता पाएको छ । समूहमा शतप्रतिशत जितले उरुग्वे उत्साहित छ ।

पछिल्ला ११ खेलमा उरुग्वेले ७ मा जित हात पारेको विश्वकप छनोट खेलका ६ मध्येका ४ खेलमा सफलता पाएको छ । यो नै मध्ये ब्राजिल माथिको २–० को जित समेत समावेश छ । उरुग्वेको तुलनामा ब्राजिलको अवस्था सही छैन । अन्तिम १० खेलमा ब्राजिलले ७ मा मात्र जित हात पारेको छ भने ७ मा सफलता पाएको छ । उरुग्वे प्रतियोगिताको साविक उपविजेता हो । ब्राजिलको अहिलेको साख विगतको भन्दा खस्किएको छ । विगतको सानदार प्रदर्शन पनि अहिले छैन ।

कोपा अमेरिका कपको इतिहासलाई आधार मान्ने हो भने यी दुई नै सबैभन्दा सफल टोली पनि हुन् । कोपा अमेरिका कपको इतिहासमा सबैभन्दा धेरै सफल खेलाडी पनि यी २ देशका नै छन् ।

लिभरपुलका डार्विन नुनेज, पिएसजीका मानुएल उगार्टे र रियल म्याड्रिडका फड्रिको भेल्भार्डो र बार्सिलोनाका रोनाल्ड अराउजो सो टोलीका हेर्नलायक खेलाडी हुन् । ब्राजिलको टोलीमा पनि नाम चलेका स्टार नभएका होइनन् । बार्सिलोनाका राफिन्हा, रियल म्याड्रिडका मिनिटाओ, लिभरपुलका एलिसन, रियल म्याड्रिडका रोड्रिगो र रियल म्याड्रिडका भिन्सेन्ट जुनियर ब्राजिलका नाम चलेका खेलाडी हुन् । यसै गरी, आर्सनलका गाब्रियल मार्टानेली, पिएजसीका मार्केन्वेस तथा रियल म्याड्रिडका १७ वर्षीय सनसनी एन्ड्रिक ब्राजिलका थप आकर्षण हुन् । यी धेरै नाम चलेका खेलाडी हुनुका बाबजुद ब्राजिल वास्तविक लयमा भने छैन ।

प्रतिक्रिया