मौलापुर नगर ‘हरित शहर’ बनाउने अभियान

मधेस ब्यूरो । मौलापुर नगर ‘हरित शहर’ बनाउने अभियान आजदेखि सुरू भएको छ । आम जनता पार्टीका अध्यक्ष समेत रहेका संघीय सांसद प्रभु साहले मौलापुरलाई हराभरा बनाउने अभियान सुरू गरेका हुन् ।

‘मौलापुर नगर हरित शहर’ बनाउने अभियानअन्तर्गत आज सांसद साहले मौलापुर नगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भई वृक्षारोपण गरी सो अभियानलाई शुभारम्भ गरेका हुन् ।

मौलापुर नगरपालिकालाई हरित शहरका रुपमा विकास गर्नका लागि सञ्चालन गरिएको ‘मौलापुर नगर हरित शहर’ अभियानअन्तर्गत बुधबार प्राथमिक स्वास्थ्य केन्द्र मौलापुरमा विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए । यो अभियानअन्तर्गत नगरभरी बिरुवा रोपिने उनले बताए ।

अभियानको सुरुवात गर्दै मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले नगरलाई सुन्दरताका लागि आफूहरुले बोटबिरुवा लगाउन सुरु गरेको बताईन् । आज पहिलो दिन विभिन्न प्रजातिका सयौँ बिरुवा रोपिसकेको जनाइएको छ ।

यो अभियानअन्तर्गतका मौलापुर नगरपालिकाको सम्पूर्ण वडामा बिरुवा लगाइने उनको भनाई छ । सो कार्यक्रमअन्तर्गत नगरका सम्पूर्ण विद्यालय, स्वास्थ्य कार्यालयलगायतका सरकारी निकायका साथै बजार र मुख्य सडकमा बृहत वृक्षारोपन गरिने मेयर साहले बताइन् । यसले नगरपालिका छिटै नै ग्रीन सिटी बन्ने विश्वास लिइएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया