मधेस ब्युरो । बाँदर नियन्त्रण गर्न रौतहटका किसानले प्रदर्शन गरेका छन् । बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणका लागि रौतहटको गरुडामा किसानहरूले प्रदर्शन गरेका हुन् ।
गरुडा नगरपालिकाको विभिन्न गाउँमा बाँदरले धानबाली, मकै, गहुँ तथा आँप र अन्य फलफूल खाइदिने गरेको छ । सयौँको संख्यामा रहेको बाँदरले बालीनाली नोक्सान गर्ने गरेको छ । बालीनाली नोक्सान गर्ने गरेको क्षेत्रमा मानिसहरू खेतमा जान पनि डराउन थालेका छन् । तरकारी तथा फलफूलजस्ता महँगो बालीको रक्षा समूहमा पनि किसानहरूले गर्न सकेका छैन । दिउँसो मात्र होइन राति पनि बाँदरको समूह तरकारी बाली नोक्सान गर्ने गरेको किसानहरूको भनाइ छ ।
बाँदरले नोक्सान गर्ने समस्या वर्षौंदेखि रहेको तथा नगरपालिका र वन कार्यालयको टोलीले निरीक्षण गरिसकेको अवस्थामा पनि नियन्त्रणको कुनै पहल हुन नसकेकोले किसानहरूले आक्रोशित भएर प्रदर्शन गरेका हुन् ।
स्थानीय नेता दीपक राय यादवको नेतृत्वमा रहेका किसानहरूको समूहले वन कार्यालय र नगरपालिकाविरुद्ध नाराबाजी गरेका छन् । बाँदरको नियन्त्रण गर्न नसकेको नगरपालिकाले किसानसित मिलेर नियन्त्रणको पहल गर्नुपर्ने भनाइ यादवको रहेको छ ।
नगरपालिकाले भने बाँदरको नियन्त्रणका लागि वन कार्यालयमा पत्राचार गरिसकेको र वन कार्यालयलाई बारम्बार ताकेता गरेको बताइएको छ । वन कार्यालयले भने बाँदरको समस्यालाई गम्भीरतापूर्वक नलिएको स्रोतको भनाइ छ । वन कार्यालयले गरुडा क्षेत्रमा रहेको बाँदरको नियन्त्रणका लागि बजेटको अभाव रहेको जनाउने गरेको स्रोतको दाबी रहेको छ ।
वन कार्यालयसित गरुडा नगरपालिकाले समन्वय गरेर बाँदर नियन्त्रणका लागि लाग्ने खर्च नगरपालिकाले बेहोर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग पनि किसानहरूको रहेको छ । नेता यादवले नगरपालिकाले कुनै पनि प्रतिबद्धता नजनाएको आरोप लगाएका छन् ।
बाँदरको समस्याको विषयमा नगरपालिका गम्भीर रहेको र छिटै समस्याको समाधानको ठोस उपाय गरिने स्रोतको भनाइ छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया