काठमाडौँ । चन्द्र पन्तको डेब्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँमा छायांकन धमाधम भइरहेको छ । अबको ४ दिनसम्म यो चलचित्रको काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिने फिल्म युनिटले जनाएको छ ।
४ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सक्ने योजनामा युनिट जुटेको हो । लगत्तै फिल्म युनिट पूर्णरूपमा चलचित्रको प्रचारप्रसार तथा पोस्ट प्रोडक्सनको काममा लाग्ने जनाइएको छ । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेसनल क्लबबाट छायांकन सुरु गरिएको चलचित्रको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
फिल्ममा बलिउड चलचित्र ‘गजनी’ का खलनायक प्रदीप रावत र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को खलनायक सुनिल वर्माको भूमिकाको छायांकन अहिले चलिरहेको छ् । उनीहरू छायांकनका लागि नेपाल आएको समयमा फिल्मले सञ्चार माध्यमलाई यसको जानकारी गराएको हो ।
बलिउड चलचित्र ‘गजनी’ भिलेन प्रदीप रावतले आफूले चलचित्रमा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी चलचित्र ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै निता राम्रो कलाकारसँगै निर्मातासमेत रहेको अनुभव सुनाए ।
निर्देशक चन्द्र पन्तलाई नेपाली चलचित्रको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकारसामु प्रस्तुत गरेका थिए ।
यस्तै, दक्षिण भारतीय चलचित्र ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए । चलचित्रको स्कृप्टअनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो चलचित्रले नेपाली चलचित्रलाई भारतीय चलचित्र उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया चलचित्र भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिन्दी गरी ३ भाषामा यो चलचित्र रिलिज हुनेछ । आगामी ३ असोजमा प्रदर्शनमा आउने चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
प्रतिक्रिया