भूकम्प प्रभावित क्षेत्रमा भासिँदै जमिन भत्किँदै अस्थायी आवास

रुकुम पश्चिम । पहाडको भिराले जमिनमा बस्ती माटोले बनेका कच्ची त्यसमाथि भूकम्पले चर्किएका घरहरू वर्षात् सुरुसँगै भत्किने डर छ । भूकम्पले चिराचिरा पारेको जमिनमा पहिरो जाने डरैडरमा बस्न बाध्य छन् । रुकुमपश्चिमका भूकम्पपीडितहरू । जाजरकोट भूकम्प गएको ८ महिना बितिसक्दा पनि भूकम्पपीडित अझैसम्म टहरामै बस्न बाध्य भएका छन् । गत वर्षको कार्तिकमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित रुकुमपश्चिमका ३२ हजार भूकम्प प्रभावितहरू टिनको टहरामुनि बस्न बाध्य छन् । सरकारले पुनर्निर्माणमा गरेको ढिलाइका कारण भूकम्पपीडितहरू टिनमुनि बस्न बाध्य भएका हुन् । पुसमाघको चिसो त्रिपालमुनि कटाएका उनीहरू चैतवैशाखको गर्मी र वर्षात्को कष्ठकर जीवन काट्न बाध्य भएका छन् । मनसुन सक्रिय भएसँगै भूकम्पपीडितहरू चिन्तित बनेका छन् ।

सबैतिर जमिन भासिएको छ । दिनदिनै पानी पर्न थाल्यो । ‘एकातिर पहिरोले पुर्छ कि भन्ने पिर छ भने अर्कोतिर टहरामा सर्प पसेर टोक्छ कि भन्ने पिर । पहिरो खस्ने डरले पानी परेको समयमा रातभर निद्रा लाग्दैन । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का भूकम्पपीडित माने बुढा भन्छन्, ‘माघ महिनाको जाडो, जेठमासको गर्मी पनि काट्यौँ अब यो बर्खा कसरी कटाउने भन्ने चिन्ता छ ।’ वर्षाद्को समयमा अस्थायी आवास (टिन) मुनिको बसाईं कष्ठकर भएको उनी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयका अनुुुसार रुकुमपश्चिममा ३२ हजार ९९६ रहेको छ । भने हालसम्म ३१ हजार ८५ जना लाभग्राहीले पहिलो किस्ता पाइसकेको जनाइएको छ । त्यस्तै जिल्लामा दोस्रो किस्ताका लागि रकम आएर पनि स्थानीयतहले दोस्रो किस्ताको रकम वितरण गरिरहेको बताइएको छ । पहिलो चरणमा आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१ करोड ६४ लाख ५० हजार रुपैयाँ पठाइएको थियोे । सबैभन्दा बढी प्रभावित आठबिसकोट नगरपाकिामा १० हजार ३९४ लाभग्राही कायम भएका छन् । सरकारले कार्यविधिअनुसार पुनर्निर्माणमा गरेको ढिलाइका कारण नागरिकले सास्ती खेप्दै आएको स्थानीयतहका जनप्रतिनिधिहरू बताउँछन् । सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्ट भन्छन्, ‘हामीलाई प्राप्त रकम पालिकाबाट वितरण गरिसकेका छौँ । हाम्रो पालिकामा ६ हजार लाभग्राही रहेकामा पहिलो किस्ता वितरणपछि दोस्रो किस्ता वितरणको काम भइरहेको छ । हामीले संघीय र प्रदेश सरकारसँग पुनर्निर्माण चाँडो गर्न माग गरिरहेका छौँ । समयमै पुननिर्माण नहँुदा हामीले सास्ती खेप्नुपरेको छ ।’

मनसुन सक्रिय भएसँगै रुकुमपश्चिमका भूकम्पपीडित पहिरो जाने त्रासमा छन् । यता राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पले क्षतिग्रस्त रुकुमपश्चिम मनसुनजन्य विपद्को उच्च जोखिममा राखेको छ । मनसुन सुरुसँगै भूकम्पको क्षतिबाट तंग्रिन बनेका रुकुमवासी फेरि विपद्को उच्च जोखिममा परेका हुन् । सोमबार राती आएको ठूलो वर्षाका कारण आठविसकोट नगरपालिका–१४ का स्थानीय भरतकुमार केसीको अस्थायी आवास जोखिममा परेको छ । आवासको आँगन भत्किएपछि उनको परिवारमा थप त्रास छाएको छ । ४ जनाको परिवार बस्दै आएको अस्थायी आवास जोखिममा परेको हो । भरत रोजगारको सिलसिलामा भारत गएका छन् । उनकी श्रीमती सीता केसी भन्छिन्, ‘राती सुतिरहेको बेला आँगन भत्कियो । रातभर जाग्राम बस्नुप¥यो । अब आँगन भत्किएको कटेजमा कसरी पो बस्ने हो । कतिबेला सबै भत्किने हो ।’ भिरालो र भासिएको जमिनमा रहेका यहाँका धेरैजसो बस्ती पहिरोको उच्च जोखिममा छन् । भूकम्पपछि आठबिसकोटका अधिकांश बस्तीहरू पहिरोको उच्चजोखिममा रहेका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया