जनकपुरधाम । महिनौँदेखि लथालिंग अवस्थामा रहेको प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित बनाउन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह सक्रिय भएका छन् ।
प्रदेश लोक सेवा आयोगको कामकर्तव्यलाई लिएर परीक्षार्थी र जनगुनासो बढेपछि मुख्यमन्त्री सिंह सक्रिय भएका हुन् ।
प्रदेश लोक सेवा आयोगलाई व्यवस्थित गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहको अध्यक्षतामा सिफारिस समितिको बैठक सम्पन्न भएको छ । बैठकबाट आयोगको रिक्त रहेको पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
विगत लामोसमयदेखि आयोगको अध्यक्ष र एक सदस्य रिक्त रहेको छ । पदाधिकारी रिक्त रहँदा आयोगको परीक्षा नतिजा तथा नयाँ कर्मचारी भर्ना प्रक्रिया ठप्प भएको छ ।
प्रदेशमा अध्यक्ष १ र २ सदस्य गरी ३ जनाको प्रदेश लोकसेवा आयोग रहने प्रदेश लोकसेवा आयोग ऐन २०७६ दफा ३ को उपदफा १ मा व्यवस्था गरेको छ ।
अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ५ वर्ष तोकेको छ । सोहीअनुसार अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो । तर उमेर हद नाघेको कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादव २०८० फागुन २२ गते अवकाश भएको आयोगका कार्यालयले जनाएको छ ।
आयोगका अर्का सदस्य महारुद्र झा पनि उमेर हद नाघिसकेको कारण २०७९ पुस ३ गते अवकाश भएका थिए । आयोगका पदाधिकारीमा डा.सुजाता देव मात्र १ जना सदस्य रहेको छ । पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकिएको छ ।
प्रतिक्रिया