जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा लिच्छविकालीन भाग्नावशेष फेला परेको छ । नगरपालिकाको वडा–६ गोविन्दपुरस्थित भग्नावशेष मात्र वाँकी रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन्मा आठौँ÷नवौँ शताब्दीका लिच्छवीकालीन अवशेषहरू फेला परेको छ ।
पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित ३ सदस्य टोलीले असार ७ गतेदेखि सुरु गरेको सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन्मा यस्ता प्रमाणहरू फेला परेको हो ।
पुरातत्वविद् प्रकाश दर्नालका अनुसार अहिलेसम्म २ वटा पत्थर जोडने आइरन डावर, फलामको गोलो रिंग, मन्दिरको माथिको सरफेसमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवि शैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ । लिपी विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने उनले जानकारी गराए ।
स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन् गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइन्छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको जनविश्वास छ । राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदुरीमा ४ वटा मठ निर्माण गरेका थिए । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारत बिहार राज्यको काल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गरेका थिए । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिरमा आज पनि पुजापाठ हुन्छ भने मठेश्वरनाथ मन्दिरको केही भग्नावशेष मात्र बाँकी छ ।
पुरातत्वविद दर्नालले भग्नावशेष हेर्दा प्राचीन मन्दिरको स्वरूप देखिएको बताए । मठेश्वरनाथ मन्दिर नै हो भनेर ठ्याकै अहिले भन्न नसकिने बताउँदै उनले उत्खनन्को क्रममा एउटा महत्वपूर्ण ढुंगा भेटिएको जानकारी दिए । उत्खनन् गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ । बिज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब ७ देखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपीको आधारमा पूर्व मध्यकाल अथवा आठौँ÷नवौँ शताब्दीको इतिहासहरू हुन सक्ने बताउँदै उनीहरूले थप मन्दिरका पर्खालहरू पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने बताउँछन् । सबैला नगरपालिकाका मेयर कारीराम यादवले आफूलाई पहिला नै यसबारे जानकारी रहे पनि मेयरमा निर्वाचित भएपछि अग्रसरता लिएको बताए ।
मन्दिरको पश्चिमतर्फ प्रवेश गर्ने द्वार रहेको यसको संरचनाले देखाउँछ । त्यसैले पहिला प्रवेशद्वारबाटै उत्खनन् सुरु गरिएको छ । भग्नावशेषको माथिल्लो भागमा सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठुल्ठुला ढुंगा एकआपसमा ‘इन्टर लक’ गरिएको अवस्थामा भेटिएको छ । ढुंगा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो त्यसको पनि पत्ता लगाउने पुरातत्वविद दर्नालले बताए ।
मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उनले पूर्वमा कोसी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी गराए । ‘यो मन्दिर प्राचीन त प्राचीन नै हो । यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी संघको सभ्यता लुकेको छ । त्यसैले अन्तिम अध्ययन नसकिएसम्म यही नै हो भन्न नसकिने उनको भनाइ छ ।
स्थानीयका अनुसार २०३३/०३४ सालतिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएका थिए । बहुमुल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको त्यतिखेर ठूलोलाई ७ र सानोलाई ५ रुपैयाँ खने वापत ज्याला दिइएको स्मरण गर्दै स्थानीयवासी यहाँबाट के भेटियो भेटिएन त्यो थाहा नभएको बताउँछन् । सोही ठाउँका अर्का वृद्ध विन्देश्वर यादवले १ जना अघोरी बाबासँग आएका झोपेले यो ठाउँमा खन्न लगाएको बताए । मन्दिर खनेर ढुंगाहरू छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिदिएको उनले जानकारी दिए ।
मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठुल्ठुला ढुंगा छरपस्ट अवस्थामा छन् । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुंगा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो । सो इनार अहिले पुरिएको छ । मन्दिरभन्दा पश्चिम एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ ।
सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यस ठाउँलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने बताए । यस ठाउँको विकासका लागि विगत २ आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समेट्दै आएको उनले जानकारी दिएका छन् । यसैगरी विगतमा माध्यमिक परिक्रमा डोलासमेत यो मन्दिर हुँदै जाने गरेको कुरा बाबुबाजेले सुनाउने गरेको कतिपयको भनाइ छ । परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर नै जाने गरेको स्थानियको दावी छ ।
प्रतिक्रिया