मधेस ब्युरो । रौतहटको परसवादेखि सिमरा भवानीपुरको बीचमा रहेको लमाहा खोलामा पुल नबन्दा यात्रीलाई निकै सास्ती भइरहेको छ । अलिकति पानी परेर खोलामा पानी बढेपछि यात्रीहरूलाई आवतजावतमा निकै कठिनाइ भएको देखिएको छ ।
चन्द्रनिगाहपुरतिर जंगल क्षेत्रमा हल्का पानी परेपछि खोलामा आउने बाढीले दर्जनौँ गाउँको आवागमन रोकिने गरेको छ । केही यात्रीहरू जोखिम मोलेर निकै कठिनाइका बीचमा खोला तर्ने गर्दछन् । खोला सानै भए पनि गहिरो भएको र तीव्र गतिमा बग्ने भएकोले कतिपय मानिस र मोटरसाइकललाई बगाएर लैजाने गरेको छ ।
खोलामा पुल बन्न सुरु भएको वर्षौं भइसकेको छ । गत वर्ष नै खोलाको पुल तयार हुने आशा स्थानीयले गरेका थिए तर यस वर्षसम्म पनि खासै प्रगति भएको छैन । पुल नबन्दा सर्वसाधारणलाई निकै कठिनाइ भइरहेको छ । हिउँदको समयमा सर्वसाधारणलाई खासै अप्ठ्यारो नभए पनि वर्षा लागेपछि मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । हरेक दिन हजारौँ यात्री आवतजावत गर्ने बाटो भएकोले धेरैलाई अप्ठ्यारो पर्ने गरेको स्थानीयको भनाइ छ ।
सडक डिभिजन कार्यालयको लापरबाहीको कारण पुलको निर्माण हुन नसकेको आरोप स्थानीयको रहेको छ तर सडक डिभिजन कार्यालयले भने बजेटको अभावमा पुलको निर्माण कार्य अगाडि बढ्न नसकेको जनाएको छ । डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर तथा सूचना अधिकारी शिवनारायण प्रसाद साहले बजेटको अभावमा यस वर्ष पुलको निर्माण अगाडि बढ्न नसकेको बताउँछन् । परसवा पुलको साइट इन्जिनियरसमेत रहेको साह भन्छन्, ‘ठेकेदारको लापरबाहीले होइन, बजेट अभावको कारणले पुलको निर्माण हुन नसकेको हो ।’
कार्यालयले पुल बनाउनका लागि ताकेता पनि गरिसकेको र यसै वर्ष पैसा पठाउने बताइरहेकोले यसै वर्ष धेरथोर काम हुने आशा अझै नमरेको साहको भनाइ छ । माथिबाट पैसा आउने सकारात्मक कुरो भइरहेको उनी बताउँछन् ।
पान्डे एन्ड डे«गन कम्पनीले पुल निर्माणको ठेक्का लिएको छ । पुलको निर्माण कार्य बीचैमा रोकिएपछि स्थानीयलाई निकै सास्ती भएको छ ।
खोलामा अलिकति पानी आउँदा खोलालाई वारपार गर्न सबैभन्दा कठिन भइरहेको छ । खोलामा पानी बढ्दासाथै आवागमन ठप्प हुने गरेको छ ।
प्रतिक्रिया