२ प्रहरी कर्मचारी हेड क्वार्टर तानिएपछि अन्यमा त्रास

मधेस ब्युरो । रौतहटको मौलापुर र बौधिमाई नगरपालिकाको प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारी अचानक हेड क्वार्टर तानिएपछि अन्य प्रहरी कर्मचारीमा पनि त्रास देखिएको छ । तस्करी र पैसा असुल गरेको आरोप लागेका २ प्रहरी कर्मचारी अचानक हेड क्वार्टर तानिएपछि सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीमा त्रास देखिएको हो ।

मौलापुर नगरपालिकाको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी जवान दीपेन्द्र सिंह र बौधिमाई नगरपालिकाको इलाका प्रहरी कार्यालय कोपवामा कार्यरत प्रहरी नायब निरीक्षक मनोजकुमार पाण्डे विभिन्न आरोपमा प्रहरी हेड क्वार्टर तानिएका हुन् । प्रनि पाण्डेमाथि तस्करसित पैसा उठाई नेपाल–भारत सीमा क्षेत्रमा तस्करी गर्नका लागि तस्करहरूलाई छुट दिएको आरोप रहेको छ भने प्रहरी जवान सिंहमाथि व्यापारीसित अबैध रूपमा रकम असुल गरेको आरोप रहेको छ । दुवै जनाविरुद्ध प्रहरी केन्द्रीय कार्यालयमा लिखित उजुरी परेपछि अनुसन्धानको लागि तानिएको स्रोतको दाबी रहेको छ ।

प्रहरी प्रधान कार्यालयमा दुवै जनाविरुद्ध उजुरी परेपछि छानबिनका लागि केन्द्रीय अनुसन्धान टोली गोप्य रूपमा रौतहट आएको बताइएको छ । सिभिल भेषमा अनुसन्धान गर्न आएको टोलीले नै मौलापुर र बंकुल क्षेत्रमा अनुसन्धान गरी पाण्डे र सिंहलाई थप अनुसन्धानका लागि हेड क्वार्टर तानेको बुझिएको छ । २ साताअघि प्रहरी चौकी बंकुलका प्रहरी निरीक्षक अवधेश यादवलाई पनि अमर्यादित कार्य गरेको सूचना प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयले तानेको थियो । प्रहरी निरीक्षक यादवलाई कारबाही प्रक्रियामा राखिएको प्रहरी स्रोतको दाबी रहेको छ ।

दक्षिण पश्चिमी रौतहटमा निर्वाध तस्करी हुने गरेको आरोप रहेको छ । प्रहरी कर्मचारीहरूकै मिलोमतोमा नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न सामानको तस्करी हुने गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गर्ने गरेको छ । हालै नेपाल प्रहरीले गत २ हप्तामा करिब २५ लाखको सामान बरामद गरेको छ । सीमा क्षेत्रबाट तस्करी हुने गरेको प्रहरीहरूले नै समात्ने गरेको सामानबाट पुष्टि हुन्छ ।
मौलापुर नगरपालिकाको १ प्रहरी युनिटमा कार्यरत प्रहरी कर्मचारी भन्छन्, लगातार प्रहरी कर्मचारीहरू सोझै हेड क्वार्टर तानिन थालेपछि सर्वसाधारणसित कुनै व्यवहार गर्न पनि डर लाग्न थालेको छ । व्यापारीहरूसित उठबस भएका तथा सीमा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरू बढी त्रसित देखिएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया