मधेस ब्युरो । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु महिनामा मात्र २४ लाखभन्दा बढीको तस्करीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले गत असार १ देखि १५ गतेसम्म विभिन्न ठाउँबाट भन्सार छली, चोरी निकासी तथा चोरी पैठारीका सामानहरू बरामद गरी भन्सार कार्यालय गौरलाई बुझाएको हो ।
गत २ हप्तामा रौतहट प्रहरीले लत्ताकपडा, सवारी साधन र अन्य गरी ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार चलान गरेको छ । यसैगरी किराना तथा खाद्यान्न लगायतका सामान ३ लाख १ हजार ९३० रुपैयाँको बरामद गरी भन्सार चलान गरिएको छ । यसैगरी प्रहरीले ८ लाख ५० हजार रुपैयाँको अवैध सुपारी तथा ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको औषधि बरामद गरी भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले गत १५ दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी भन्सार चलान गरिएको बताएकी छन् ।
नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलीका सामानहरू निरन्तर बरामद गरिरहेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया