जनकपुरधाम । सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला तहमा पत्रकारहरूसँग सुरक्षित वैदेशिक रोजगारसम्बन्धी एकदिने अन्तरक्रिया गरेको छ । परियोजनाको परिचय र उपलब्धीको बारेमा पत्रकारलाई जानकारी गराउने र परियोजनाको आगामी योजनाका लागि पत्रकाहरूको पृष्ठपोषण लिने उद्देश्यले उक्त अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा परियोजनाअन्तर्गत भएको क्रियाकलाप र उपलब्धीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउँदै परियोजना संयोजक सौरभ कर्णले आवश्यक चेतनाको अभावमा बैदेशिक रोजगारमा जानेहरू ठगिँदै आएको भन्दै सुरक्षित वैदेशिक रोजगारमा कसरी जाने भन्ने विषयमा सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र (सूचना केन्द्र)मार्फत सहयोगका साथै आवश्यक परामर्श सेवा दिइरहेको बताए ।
सुरक्षित वैदेशिक रोजगारका विषयमा सञ्चारमाध्यमको थप सशक्त भूमिका आवश्यक पर्ने उनको भनाइ थियो । खासगरी वैदेशिक रोजगारीमा जानेहरूले अपनाउनुपर्ने सावधानी तथा सचेतनाका बारेमा जानकारी तथा उनीहरूले भोग्नुपरेको समस्याका बारेमा जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
सामी परियोजनाअन्तर्गत धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनौजी गाउँपालिकाको नेतृत्वमा सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी तथ्यांक, समस्या तथा समाधानका बारेमा सुझाव संकलन गर्ने काम भएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा परियोजना संयोजक कर्णले अहिले वैदेशिक रोजगारमा जानेहरू अवैधानिक बाटोबाट जाने र विभिन्न समस्यामा परेर घर फर्कने गरेकोले भविष्यमा यस्तो घटना नहोस् भनेर सचेतना कार्यक्रम नेपाल सरकारले सामी परियोजनामार्फत सञ्चालन गरेको बताए । कर्णले सरकारले फ्रि–भिसा र फ्रि–टिकटको व्यवस्था गरेको भए पनि धेरै मानिस मोटो रकम खर्चेर चोर बाटो हुँदै वैदेशिक रोजगारमा जाने प्रवृत्ति रहेकोले त्यो नियन्त्रणका लागि पनि सामी परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
धनुषामा २०८० साउनदेखि २०८१ जेठसम्म आप्रवासी स्रोत केन्द्रबाट परामर्श सेवा लिनेमा १५ हजार ९०९ जना, रिटर्नी स्वयंसेवकमार्फत परामर्श लिनेमा १० हजार ४२४ जना, गहन तथा समुदाय अभिमुखीकरणमार्फत परामर्श लिनेमा ५८४ जनासहित जम्मा २६ हजार ९१७ जनालाई सूचनामा पहुँच रहेको जानकारी दिइएको थियो । त्यस्तै, तालिमको लागि सिफारिस गरिएको ३४ तथा सीप सिकेको ८ जनासहित ४२ जनालाई सीपमा पहुँच पुर्याइएको जानकारी दिइयो ।
आप्रवासी स्रोत केन्द्रमार्फत ३५० जनाको न्यायमा पहुँच पुगेकोमा २०० जनाको समस्या समाधान गरिएकोमा जिल्ला प्रशासन कार्यालयमार्फत २५६ मध्ये १११ जना र स्थानीय तहमार्फत ४९ मध्ये ३५ जनालाई न्यायमा पहुँच पु¥याइएको बताइएको थियो । सामीमार्फत ६ करोड ९० लाख ४२ हजार ४०० रुपैयाँ आर्थिक सहायता रकम उपलब्ध गराइएको जानकारीसमेत दिइयो । सामी कार्यक्रमले वैदेशिक रोजगारीमा जाने आप्रवासीहरूलाई सूचनामा पहुँच, न्याय, सीप तालिम, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया