जनकपुरधाम । जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरूले चुरेभावर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका छन् ।
भ्वाइस अफ जनकपुर समूहले ‘जल संकट ः चुरे संरक्षण र स्थानीय जिम्मेदारी’ विषयक गोष्ठी कार्यक्रममा विज्ञ तथा सहभागीहरूले तराईमा बढ्दै गइरहेको पेयजल र सिँचाइको निमित्त पानीको संकट रोक्न पानीको रिचार्जिङको प्राकृतिक प्रक्रियालाई पूर्ववत फर्काउन चुरेभावर क्षेत्रको संरक्षण गरी त्यहाँ भइरहेको विनाश रोक्न माग गरेका हुन् ।
उक्त कार्यक्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले कार्यपत्र प्रस्तुत गर्दै चुरेभावर क्षेत्रको संरक्षणले मात्र पानीको प्राकृतिक रिचार्जिङ हुन सक्ने हुँदा चुरेभावर क्षेत्रको संरक्षण आवश्यक भएको बताए । उनले वन कटानी, अतिक्रमित बासोबास र सहरीकरण तथा प्राकृतिक स्रोतको अति दोहनले गर्दा यस्तो स्थिति हुन आएको बताए । डा.सिंहले तत्काल संघ, प्रदेश र स्थानीय तहले समन्वित कार्ययोजना र त्यसको कार्यान्वयन अगाडि नल्याए स्थिति विकराल हुने चेतावनी दिएका थिए ।
कार्यक्रममा विज्ञ ई.रत्नेश्वरलाल कर्णले आफ्नो प्रस्तुतिमा पानी रिचार्जिङको सम्पूर्ण प्रक्रिया, पानीको स्थिति र गर्न सकिने उपायहरूबारे विस्तारपूर्वक प्रकाश पारेका थिए । त्यस्तै चुरेभावर क्षेत्रमा कार्यरत नागदेव यादवले आफ्नो प्रस्तुतिमा चुरेभावर क्षेत्रको महत्व र स्थितिबारे बोल्दै त्यस क्षेत्रमा भइरहेका कार्यहरू र त्यसका उपलब्धिहरू सहभागीसमक्ष राखेका थिए ।
एकीकृत समाजवादी पार्टीका नेता शीतल झा र ई.प्रकाशचन्द्र साहले समेत आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाका मेयरहरूका साथै सबै पार्टीबाट राजनीतिकर्मीहरू उपस्थित भएका थिए ।
उक्त कार्यक्रमको अन्तमा आफ्नो विचार राख्दै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले चुरेभावर क्षेत्रमा विभिन्न परियोजनाहरू चलाइएको भए पनि विनासको क्रम नै बढ्दै गएको एवं वन कटानी, अतिक्रमित बसोबास र सहरीकरण तथा प्राकृतिक स्रोतको अति दोहन रत्ती पनि कम नभएको गुनासो गरेका थिए ।
अध्यक्ष लालले सामुदायिक वनको अवधारणा विफल भएको र यसले जताततै वनविनाश नै बढेकोले खारिज गरिनुपर्ने र वन कटानी, अतिक्रमित बसोबास रोक्न चुरेभावर क्षेत्रलाई राज्य संरक्षित विशेष क्षेत्र बनाउनुपर्ने माग गरेका थिए ।
भ्वाइस अफ जनकपुर जनतासँग सम्बन्धित सबै प्रकारका ज्वलन्त मुद्दाहरूबारे छलफल गरी सामूहिक रूपमा विचार व्यक्त गर्न हालै गठित समूह हो । यस समूहमा तमलोपाका वृषेशचन्द्र लाल र डा.विजयकुमार सिंह, नेपाली कांग्रेसका नेता र प्रदेशसभा सदस्य रामसरोज यादव, नेकपा एकीकृत समाजवादीका नेता शीतल झा, वामपन्थी वुद्धजीवी रोशन जनकपुरी लगायतकाहरू आवद्ध छन् ।
प्रतिक्रिया