जनकपुरधाम । मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले मधेस प्रदेशको शिक्षा नीति ल्याउने गृहकार्य भइरहेको बताएका छन् ।
जनकपुरधाममा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले शिक्षामा समग्र सुधारका लागि प्रदेश सरकारले प्रदेश शिक्षा नीति ल्याउन गृह कार्य सुरु गरेको बताए । विद्यार्थी भर्ना तथा टिकाउ दरसम्बन्धी चुनौती र समाधानका उपाय विषयक २ दिवसीय प्रदेशस्तरीय बृहत् शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश शिक्षा नीति ल्याएर मधेसको शिक्षामा सुधार ल्याइने बताए ।
प्रदेश गठन भएको ७ वर्ष बित्न लाग्दा पनि मधेस प्रदेशमा शिक्षा नीति आउन नसकेको कारण शिक्षाको क्षेत्रमा विभिन्न खालका चुनौतीहरू देखिएको भन्दै उनले शिक्षा नीति ल्याउनकै लागि मन्त्रालयले सरोकारवाला निकायसँग विभिन्न खालका छलफलहरू चलाएको बताए । मधेस प्रदेशको बजेटमा शिक्षा क्षेत्र छैटौँ प्राथमिकतामा परेको जानकारी गराउँदै सीमित स्रोत साधनका बाबजुद आफ्नो मन्त्रालयले समाजवाद उन्मुख आधारभूत वर्गलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी गराए ।
उनले आगामी आर्थिक वर्षमा प्रदेशका केही विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्नुका साथै केही विद्यालयका बालकक्षाहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको बताए । उनले खास गरेर दलित विपन्न वर्गका बालबालिकाले आर्थिक अभावका कारण विद्यालय छोड्ने गरेको भन्दै त्यस्ता खालका समस्या समाधानका लागि मन्त्रालयले दलित विपन्न वर्गका विद्यार्थीसहित अभिभावकलाईसमेत सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराए ।
उनले दलित विपन्न वर्गका विद्यार्थीको अभिभावकलाई मासिक ५० केजी चामल, ५ केजी दाल सहयोग दिने कार्यक्रम मन्त्रालयले ल्याएको बताए । एक्लो प्रयासले कुनै पनि काम सम्भव नहुने भन्दै मधेसको साक्षरता दर बढाउनका लागि मन्त्रालयले सुरु गर्न लागेको विशेष अभियानमा सबैको सहयोग आवश्यक भएको उनले बताए ।
प्रतिक्रिया