पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

रुकुम पश्चिम । मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुमखण्डमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । गए राति रुकुम पश्चिमको मुसीकोट नगरपालिका –८ किटेनीमा आएको पहिरोले उक्त राजमार्ग अवरुद्ध भएको हो ।

भिरालो ठाउँमा माथिबाट सडक खसेको पहिरोले अवरुद्ध भएको सडकमा अहिले पोखरा हुँदै, रुकुम पुर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, सुर्खेत, नेपालगन्ज र रुकुम पश्चिम हुँदै रुकुम पुर्व, पोखरा, काठमाडौं जाने सवारी साधनहरु सडकमै रोकिएका छन् ।

मनसुन सुरु भएसँगै यस क्षेत्रमा पटक पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । अवरुद्ध सडक मध्यपहाडी राजमार्ग कार्यालय, मुसिकोट नगरपालिका र नेपाल प्रहरीको सहयोगमा पहिरो हटाउने काम भइरहेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

शनिबार रातिदेखि उक्त सडक अवरुद्ध भए पनि आइतबार बिहानदेखि सडकको पहिरो पन्छाउने कोसिस भइरहेको जनाइएको छ । सडक अवरुद्ध हुँदा यात्रुवहाक तथा मालवाहक गाडीहरु सडकै रोकिएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया