जनकपुरधाम । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आइटी आर्मीका कार्यकर्ताहरूले शुक्रबार काठमाडौँस्थित श्रम तथा रोजगार मन्त्रीको पुतला दहन गरेका छन् । आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा गएका नेता कार्यकर्ताहरूले वैदेशिक रोजगारका पीडितहरूको न्यायको माग गर्दै श्रममन्त्रीको पुतला जलाएका हुन् । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन आइटी आर्मीले झण्डै २ हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । आन्दोलनसँगै उनीहरू वैदेशिक रोजगार विभागमा लगातार धर्ना एवं घेराउ कार्यक्रम गर्दै आएका छन् । तर, आन्दोलनको सरकारमाथि कुनै असर परेको देखिएन ।
विदेश जाने युवाहरूसँग बिनारसिद मोटो रकम ठगी गर्ने म्यानपावर, दलाललाई कारबाही गर्नुको सट्टा सरकारले उल्टै आन्दोलनकारीलाई ह्रासमेन्ट गर्ने कार्य भएको भन्दै यसमा प्रधानमन्त्रीको समयमा ध्यान जाओस् भन्दै आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बताउँदै आएका छन् ।
‘अहिले वैदेशिक रोजगारको नाममा लाखौँलाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौँलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ । असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’, अध्यक्ष साहले भने ।
यसअघि आइटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै वैदेशिक रोजगार विभागलाई ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।
प्रतिक्रिया