मधेस ब्युरो । रौतहटको फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधानलाई अदालतले चेक काट्न रोक लगाएको छ । उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै चेक काट्नमा रोक लगाएको छ ।
फतुवा विजयपुरका विजय कुमार यादव समेतले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा हाकिम प्रधानविरुद्ध मुद्दा दायर गरेका थिए । हाकिम प्रधानमाथि नगरपालिकाको कार्यालय नपुगी चन्द्रनिगाहपुरस्थित डेरामा बसेर कामै नभएको योजनाको नक्कली बिल र भरपाईको आधारमा चेक काटिरहेको आरोप लगाइएको छ ।
योजना तर्जुमा नभएको काममा पनि हाकिम प्रधानले चेक काट्ने गरेको आरोप यादवले लगाएका छन् । यादवले अन्तरिम आदेशसमेत माग गरेको हुँदा छलफलको लागि उच्च अदालतले असार १७ गते पेसी तोकेको छ । अदालतले तत्कालको लागि कुनै पनि कार्यका लागि बजेट निकासा तथा खर्च गर्ने उद्देश्यले गैरकानुनी तवरबाट रकम निकास नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
उच्च अदालतका माननीय न्यायाधीश भरत लम्सालको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा फतुवा विजयपुरमा प्रधानले पटकपटक काम गरिसकेका छन् । कहिले वडाध्यक्षहरूसित मिलेर कार्यवाहक नगरप्रमुख अम्बेया खातुनलाई एक्ल्याउने त कहिले कावा नगरप्रमुखसित मिलेर वडाध्यक्षहरूलाई एक्लो पारी बजेटमाथि एकलौटी गर्दै आएका प्रधान नगरपालिका कार्यालय जाने गरेका छैनन् । कटहरिया नगरपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्रधान दुवै नगरपालिकाका लेखापाल र नगरप्रमुखलाई चन्द्रनिगाहपुरमा बोलाएर चेक काट्ने गरेका छन् ।
चन्द्रनिगाहपुरबाटै २ नगरपालिका सञ्चालन गर्ने गरेका प्रधान पछिल्लोपटक वडाध्यक्षहरूसित मिलेर फतुवा विजयपुरमा हाजिरी गरेका थिए । हाजिरी गरेको दिन कावा नगरप्रमुख खातुनले प्रधानमाथि विभिन्न आरोप लगाउँदै विज्ञप्ति जारी गरेकी थिइन् । कार्यालयको ताला फुटाएर बलजफ्ती हाकिम बनेको आरोप लगाएकी कावा नगरप्रमुख खातुन र हाकिम प्रधान दुवै जनाले नगरसभाले बजेट नछुट्याएको योजनामा पनि भुक्तानी लिइरहेको आरोप वडाध्यक्षहरूले लगाएका छन् ।
प्रतिक्रिया