धनुषामा आँप मेला, चाहे जति निःशुल्क आँप खान पाइने

जनकपुरधाम । धनुषाको बटेश्वरमा निःशुल्क रूपमा जति चाहे आँप खान सकिने मधेस प्रदेशकै पहिलो आँप मेला लागेको छ, जहाँ मधेसलाई चिनाउने आँपको हरेक प्रजातिको बारेमा अवलोकनकर्तालाई चिनाइन्छ । मधेसको राजधानी धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित फूलबारीमा आँप मेला लागेको छ । मेलामा अवलोकनका लागि विद्यार्थीहरूको भिड लागेको छ । मधेसको पहिलो आँप मेला भनिएको यस मेलामा आँप किन्ने होइन बरु आँपको हरेक प्रजातीका विषयमा बुझ्ने र मन लागेजति निःशुल्क आँप खाएर घर फर्किन मिल्ने व्यवस्था गरिएको छ । मेलाले फलको राजा आँप र आँपमा पनि राजा माल्द प्रजाति सहितका विभिन्न प्रजातिको ज्ञानले स्थानीय उत्पादनप्रति नयाँ पिढीको आकर्षण बढाउन मेला फलदायी सावित हुने विश्वास मेला अवलोकनकर्ता वरिष्ठ पत्रकार गोपालप्रसाद बरालको छ ।

यस क्षेत्रमा हरेक व्यक्ति र परिवारको घरको आँप फल्छ । चाहे करेसाबारी होस कि बिघौ जग्गामा फूलबारी हरेक परिवारले आँप आफ्नै बोटमा उत्पादन गर्ने यो क्षेत्र आँपका लागि चर्चित छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आँप पकेट जोन घोषणा गरिए पनि यस क्षेत्रमा राम्रो उत्पादन हुने आँपको बजारीकरण अभाव, पहुँच र पावरको प्रभावले वास्तविक किसान चिन्तित छन् । त्यसैले यहाँका अगुवाहरू मेलाको आयोजना गरेको आयोजक सदस्य तथा सञ्चारकर्मी फुलगेन मगहीले बताए ।

मेलामा स्कुल र कलेजका विद्यार्थीहरूलाई बोलाएर मधेसको मुख्य उत्पादन रहेको फल आँपको विशेषता, त्यसका करिब ३ दर्जनभन्दा बढी प्रजाति र त्यसमा कुनको कुन विशेषता भन्ने विषयमा जानकारी गराइएको छ भने पर्यटन तथा होटल व्यवसायीहरूलाई बोलाएर आँपको सिजन पछि आँपले बनाउन सकिने परिकार र त्यसमा होटल व्यवसायीहरूको योगदान विषयमा चर्चासमेत गरिएको छ । मेला अवलोकन गर्न आएका महोत्तरी बर्दिवासका होटल तथा पर्यटन व्यवसायद्वय नारायण घिमिरे र गुञ्जबहादुर कार्कीले मेला स्थानीय उत्पादनमा टेवा र प्रचार प्रसारका लागि फलदायी हुने बताए ।

मधेसको उपयुक्त हावापानी र माटोको कारण यहाँ प्रर्याप्त आँप उत्पादन हुने गरेको छ । राज्यले प्रदान गर्ने सुविधाहरू पावर र पहुँचको आधारमा सीमित किसानले मात्र पाउने, सिजनमा आँउने आँप बिक्री हुनुभन्दा बढी बोट र फूलबारीमै सडे गलेर जाने, किसानले सिधा बजार नपाई बिचौलियामार्फत बजारमा आँप जाने र भारतको आँप सिजन अगावै बजारमा प्रयाप्त उपलब्ध हुनेजस्ता समस्याले धनुषाका आँप किसानहरू निरुत्साहित हुँदै गएका छन् ।

प्रतिक्रिया