काठमाडौं । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ विमोचन गरिएको छ ।
नेपाल श्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्राडा लक्ष्मण गौतम, कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, पत्रकार तथा निबन्धकार दीपक सापकोटा, नियात्राकार जय छाङ्छा, समालोचक ज्ञानु अधिकारी, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी लगायतले उक्त कृति एक कार्यक्रमबीच एकै साथ विमोचन गरेका थिए ।
प्रमुख अतिथि क्याप्टेन रामेश्वर थापाले पुस्तकका बारेमा संक्षेपमा चर्चा गर्दै सापकोटाका व्यक्तित्वका विविध आयामका साथमा आफ्नो मन्तव्यसहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कृति पठनीय भएको र यसमा निजात्मक अनुभूति छ भन्दै पाठकलाई आफूसँगै यात्रा गरेको भान पार्न सक्ने क्षमता तथा कृतिको बारेमा संक्षेपमा चर्चा गरेकी थिइन् ।
उनले द्वन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका बताइन् । अर्का वरिष्ठ नियात्राकार जय छाङ्छाले कृतिका सैद्धान्तिक पक्षहरुको बारेमा चर्चा गर्दै नियात्रामा प्रदीप सापकोटाको भविष्य रहेको बताए ।
कार्यक्रममा नेपाल प्रेस काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो कलेज सहपाठीको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्दै यात्रा सबैले गर्छन् नियात्रा थोरैले लेख्छन् तर लेखेका कुराहरुको चर्चा हुनुपर्ने, नियात्राकारले सरोकारवालाहरुलाई झक्झकाएकोमा सुनुवाई भयो भएन फलोअप हुनुपर्नेमा त्यस्तो भइनरहेको विचार व्यक्त गरे ।
यसैगरी नियात्राकारलाई शुभकामना दिँदै प्राडा लक्ष्मण गौतमले नियात्राकारका सिद्धान्तका अध्येता र समालोचकहरुले नै कृतिको बारेमा चर्चा गरिसकेपछि कृति पठनीय भएको बुझ्न कठिनाई नभएको बताए । कार्यक्रममा कवि एवं वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी, अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी, भूँडीपूराण प्रकाशनका केशव पराजुली लगायतले कृतिको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
नियात्राकारले कृतिको रचना गर्भको बारेमा आफ्ना अनुभूतिहरु राखेका थिए । यात्राको लयमा विगतको सशस्त्र द्वन्दकालीन नेपाली समाजमा यात्राका क्रममा देखेभोगेका विद्रुप चित्रदेखि धार्मिक यात्रा र दार्जिलिङसम्मका यात्रा परिवेशलाई निजात्मक शैलीमा पस्किएको छ । कथा पढेको भान पर्छ । कतिपय यात्राहरु श्रृंखलामा बगेका छन् । द्वन्दकालिन नेपालदेखि वर्तमानसम्मका विभिन्न विषयमा उनका नियात्रा आएका देखिन्छ ।
साथै, यात्राको विभिन्न परिवेश, प्राकृतिक दृश्य, यात्राका कठिनतम् एवं सुखद पलहरुको मिठासपूर्ण वर्णन रहेको बताइएको उक्त कृति नियात्राकारको दोस्रो नियात्रा कृति हो । कृति लोकार्पण कार्यक्रम विभिन्न साहित्यिकहरुको उपस्थितीमा नेपाल श्रष्टा समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदनको अध्यक्षता एवं सदस्य मधु पाठकको सञ्चालनमा लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै श्री ओम श्रेष्ठ रोदनले नियात्रामा गांम्भिर्यता हुनु अनिवार्य रहेको भन्दै सतही विवरण कदापी नियात्रा नहुने उल्लेख तथानियात्राकारलाई थप लेखनीको निम्ति शुभकामना व्यक्त गरे । कार्यक्रममा श्रष्टा समाजका महासचिव देविका तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।
साथै नेपाल श्रष्टा समाजलाई भानु प्रतिष्ठानका उपाध्यक्ष ऋषवदेव घिमिरे तथा पूर्व कोषाध्यक्ष हरिबोल ढकालले हस्तलिखित भानुभक्तिय रामायण हस्तान्तरण पनि गरेका थिए । नियात्राकार तथा समीक्षा लेखनीमा सक्रिय सापकोटाको यसअघि यात्राका इन्द्रेणी रंग (नियात्रासंग्रह) र मनको वारपार (मुक्तकासंग्रह) प्रकाशित भइसकेका छन् ।
प्रतिक्रिया