फतुवा विजयपुरका हाकिमलाई चेक काट्न अदालतको रोक

मधेस ब्युरो । रौतहटको फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधानलाई अदालतले चेक काट्न रोक लगाएको छ । उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै चेक काट्नमा रोक लगाएको हो । फतुवा विजयपुरका विजयकुमार यादव समेतले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा हाकिम प्रधानविरुद्ध मुद्दा दायर गरेका थिए ।

हाकिम प्रधानमाथि नगरपालिकाको कार्यालय नपुगी चन्द्रनिगाहपुरस्थित डेरामा बसेर कामै नभएको योजनाको नक्कली बिल र भरपाइको आधारमा चेक काटिरहेको आरोप लगाइएको छ । योजना तर्जुमा नभएको काममा पनि हाकिम प्रधानले चेक काट्ने गरेको आरोप यादवले लगाएका छन् । यादवले अन्तरिम आदेशसमेत माग गरेको हुँदा छलफलका लागि उच्च अदालतले असार १७ गते पेसी तोकेको छ ।

अदालतले तत्कालको लागि कुनै पनि कार्यका लागि बजेट निकासा तथा खर्च गर्ने उद्देश्यले गैरकानुनी तवरबाट रकम निकास नगर्नु–नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश गरेको हो । उच्च अदालतका न्यायाधीश भरत लम्सालको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा फतुवा विजयपुरमा प्रधानले पटक–पटक काम गरिसकेका छन् । कहिले वडाध्यक्षहरुसँग मिलेर कार्यवाहक नगरप्रमुख अम्बेया खातुनलाई एक्ल्याउने त कहिले कावा नगरप्रमुखसँग मिलेर वडाध्यक्षहरुलाई एक्लो पारी बजेटमाथि एकलौटी गर्दै आएका प्रधान नगरपालिका कार्यालय जाने गरेका छैनन् ।

कटहरिया नगरपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्रधान दुवै नगरपालिकाका लेखापाल र नगर प्रमुखलाई चन्द्रनिगाहपुरमा बोलाएर चेक काट्ने गरेका छन् । चन्द्रनिगाहपुरबाटै दुई नगरपालिका सञ्चालन गर्ने गरेका प्रधान पछिल्लो पटक वडाध्यक्षहरुसँग मिलेर फतुवा विजयपुरमा हाजिरी गरेका थिए ।

हाजिरी गरेको दिन कावा नगरप्रमुख खातुनले प्रधानमाथि विभिन्न आरोप लगाउँदै विज्ञप्ति जारी गरेकी थिइन् । कार्यालयको ताला फुटाएर बलजफ्ती हाकिम बनेको आरोप लगाएकी कावा नगरप्रमुख खातुन र हाकिम प्रधान दुवै जनाले नगरसभाले बजेट नछुट्याएको योजनामा पनि भुक्तानी लिइरहेको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया