वीरगञ्ज । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन २ किलोमिटर दुरीको सडक १ साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक १ साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो ।
कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा २ किमी खण्डमा नमुना सडकका रूपमा स्तरोन्नति गर्न लागेको बताए ।
‘यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ । पहिलो चरणमा पथलैया–हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौँ’, सूचना अधिकारी पाण्डेले भने, ‘अहिलेसम्म २ लेनको १ हजार २०० मिटर सडक तयार भइसकेको छ । बाँकी ८०० मिटर पहिलो चरणमा कालोपत्र (डिबिएम) भइसकेको छ । दोस्रो चरणको अस्फास्ट कालोपत्र गर्ने काम २÷३ दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’ उनले वर्षा सुरु भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए ।
यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको लागत ४ करोड १२ लाख १७ हजार ३४८ रहेको छ । ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डको भनाइ छ । उनले यो प्रविधिले कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे ।
‘हामीले परीक्षणको क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौँ । यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ’, सूचना अधिकारी पाण्डले भने, ‘यो खण्डको सडक पहिलो चरणमा डिबिएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ । यो प्रविधिले सडक भासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौँ ।’
प्रतिक्रिया