अञ्चल शाही नेपाल भलिबल संघको केन्द्रीय सदस्यमा मोनीत

काठमाडौं । अञ्चल शाही ठकुरी नेपाल भलिबल संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । कलाकारीतामा समेत रूची राख्ने शाहीलाई बुधबार नेपाल भलिबल संघको ३५औँ केन्द्रीय कार्य सम्पादनको बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

उनलाई भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बुधबार नै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सदस्यमा मनोनीत भएका शाहीले भलिबल देशकै राष्ट्रिय खेलकुद भएकाले यसमा थप सुधार र व्यवस्थापनमा भूमिका खेल्ने बताए ।

साथै, उनले युवा खेलाडी विदेश पलायन भइरहेको अवस्थामा खेलकुदबाटै देशमा जिविकोपार्जन गर्न सक्ने वातावरण मिलाउन आफ्नो महत्पूर्ण भूमिका रहने बताए ।

‘देशमा उदाउँदा खेलाडीहरू विदेश पलायनको क्रम रोकिएको छैन, स्वदेशमै रहेर खेलकुदबाट जिविकोपार्जन गर्ने अवस्था पनि छैन’, सदस्य शाहीले भने, ‘हुन त म भर्खर केन्द्रिय सदस्यमा प्रवेश गरेको छु, तर हाम्रा खेलाडीलाई स्वदेशमै रहने वातावरण मिलाउन पहल गर्ने छु ।’

शाहीले अब आउने नयाँ खेलाडीलाई पनि विशेष महत्वका साथ प्राथमिकतामा राख्ने बताए । आफूलाई केन्द्रिय सदस्यमा मनोनीत गर्ने नेपाल भलिबल संघका पदाधिकारी र अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई शाहीले धन्यवाद व्यक्त गरेका छन् ।

बगलुङ निवासी शाही लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएका छन् । उनी केही वर्षअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति नयाँ बस पार्कको अध्यक्ष समेत थिए ।

प्रतिक्रिया