कालिकोट । खाँडाचक्र नगरपालिका– ५ मोटेलाका नागरिकहरु प्रयोग भइसकेको पानी पुनः प्रयोग गरेर तरकारी खेती गरिरहेका छन् । तरकारी खेती गर्ने खाँडाचक्र– ५ की रुकमता विश्वकर्माले धाराबाट आएको पानी तथा प्रयोग गरेको पानी पुनः प्रयोग गरी आफूलाई खानका लागि तरकारी खेती गरिहरेकी छन् ।
उनको बारीमा आफूलाई चाहिने तरकारी प्रसस्त छ । रुकमता विश्वकर्मा मात्रै हैनन् खाँडाचक्र नगरपालिका– ५ मोटेलाका नागरिकहरू पानीको पुनः प्रयोग गरिरहेका छन् । कसैले तरकारी खेती गर्ने त कसैले पुनः प्रयोगमा आएको पानी खेतबारीमा प्रयोग गरी विभिन्न किसिमका बालीहरु उत्पादन गर्ने कार्यमा जोड दिएका छन् ।
युएसए आईडी कर्णाली जल परियोजनाको आर्थिक सहयोगमा सामाजिक व्यवहार परिवर्तनअन्तर्गत हिमाली ग्रामीण समाज विकास केन्द्रको सहयोग तथा समन्वयमा खाँडाचक्र नगरपालिका– ५ मा पानीको पुनः प्रयोग गरेर विभिन्न किसिमका खेती उत्पादनमा लागेका छन् ।
घरायसी तथा साना कृषि (करेसाबारी) व्यवस्थापनका लागि पानीको बचत र घरबाट निस्कने फोहोर पानीको पुनः प्रयोग विधिसम्बन्धी जानकारी दिने यस कार्यक्रमको लक्ष्य रहेको हिमाली ग्रामीण युवा समाज विकास केन्द्रका कार्यक्रम व्यवस्थापक शिवचन्द्र कार्कीले बताए । उनले पानीको उत्पादनशिल प्रयोगका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने तथा क्षमता विकास गर्ने पनी यस कार्यक्रमको लक्ष्य रहेको बताए ।
घरायसी प्याड बनाउँदै किशोरी
खाँडाचक्र नगरपालिका–५ मा किशोरीहरु घरायसी प्याड बनाउँदै प्रयोग गरिरहेका छन् । आफूलाई चाहिने प्याड आफै निर्माण गरेर समुदायमा रहेका किशोरीहरुलाई प्याड वितरण गर्ने किशोरीहरूको भनाई छ । हिमाली ग्रामिण युवा समाज विकास केन्द्रले घरायसीस्तरमा प्याड बनाउने तरिकासम्बन्धी तालिम दिएपछि किशोरीहरू प्याड बनाउँदै प्रयोग गरिरहेका छन् ।
खाँडाचक्र नगरपालिका– ५ कि भावना विकले आफैँ प्याड बनाउँछिन् । उनले आफ्नो महिनावारीमा आफैँ प्याड निर्माण गरेर प्रयोगमा ल्याउँछिन् । उनी भन्छिन्, ‘बाहिरको प्याड किन्दा महंगो पर्ने र त्यति राम्रो नहुने तथा पुनः प्रयोगमा ल्याउन नसकिने भएपछि आफैँ प्याड निर्माण गर्छौँ ।’
धोएर पुनः प्रयोगमा ल्याउन मिल्ने भएपछि अहिले सहज भएको बताउँदै प्याड बनाउने तरिकासम्बन्धिको तालिम दिएकोमा उनले हिमाली ग्रामिण युवा समाज विकास केन्द्रलाई धन्यवाद समेत दिइन् । वडा नम्बर ५ की सर्मिला विकले बाहिरको प्याड राम्रो नहुने बताइन् ।
आफैँ प्याड बनाएर प्रयोग गर्दा सहज हुने उनको भनाई छ । खाँडाचक्र नगरपालिका–। ५ मा रहेका किशोरीहरूले प्याड निर्माणसम्बन्धी तालिम लिएपछि सहज भएको उनीहरू बताउँछन् । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (मुगु) ले कालिकोट, अछाम र मुगुमा घरायसी प्याड निर्माण, खानेपानीका क्षेत्र, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
खाँडाचक्र नगरपालिका– ५ मा गएको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रवलजंग शाही, वडाध्यक्ष देउराम विश्वकर्मा, स्वास्थ्य शाखा, कृषि शाखाका प्रमुखहरुको उपस्थित रहेको थियो ।
यएसए आईडी कर्णाली जल परियोजनाको आर्थिक सहयोगमा सामाजिक व्यवहार परिवर्तनअन्तर्गत हिमाली ग्रामीण समाज विकास केन्द्रको सहयोग तथा समन्वयमा घरायसी प्याड निर्माणसम्बन्धी तालिम दिएको कार्यक्रम व्यवस्थापक शिवचन्द्र कार्कीले बताए ।
कालिकाेट
प्रतिक्रिया