घरज्वाइँको बिन्जुरी सार्वजनिक

काठमाडाँै । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक भएको छ । एसडी योगीको संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ ।

प्रेमिल शैलीको यो गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महसुस गर्न सकिन्छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’का रूपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।

अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैँले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

प्रतिक्रिया