बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगरसभा पुनः स्थगित गरिएको छ । शनिबारका लागि आयोजना गरिएको १० औं नगरसभामा गणपुरक संख्या नपुगेका कारण दोश्रो पटक स्थगित गरिएको हो ।
पहिलो बैठक असाढ ६ गतेको लागि डाकिएको थियो । उक्त समयमा पनि गणपुरक संख्या नपुगे पछि नगरसभा स्थगित गरिएको थियो । दोश्रो बैठक असाढ ८ गते शनिवारको लागि डाकिएको तर गणपुरक संख्या नपुगेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले दोश्रो पटक बैठक स्थगित भएको जानकारी गराएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकांश वडाध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुले १० औं नगरसभा असाढ ६ गते नै पत्रकार सम्मेलनको आयोजना गरेर बिरोध जनाएको थिए । वडाको बजेटमा नगरप्रमुखले ५० प्रतिशतसम्म कटौती गरेको भन्दै वडाध्यक्षहरुले १० औं नगरसभाको बहिष्कार गर्दै आइरहेका छन् । जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले तेश्रो बैठक असाढ १० गतेको लागि नगरसभा तोकिएको जानकारी गराएका छन् ।
उपमहानगरपालिकाका वडाध्यक्षहरुको माग यस्तो छ
जीतपुरसिमरा उपमहानगरपालिकाको वडाध्यक्षहरुले १० औं नगरसभामा उपमहानगरले ल्याउन लागेको बजेटमा वडास्तरीय बजेट कटौती नगर्न उपमहानगर प्रमुख पौडेलसंग माग गरेका छन् ।
नगरप्रमुख पौडेलले वडाको बजेट कटौती गरेर आफैले ५० प्रतिशत बजेट चलाउनेमा अडान लिए पछि वडाध्यक्ष नगरप्रमुखसँग असन्तुष्ट बन्दै आएका हुन् । उपमहानगरले घाटा बजेट ल्याएर वडाको बजेट कटौती गर्न लागेकोले आफुहरुले नगरसभा बहिष्कार गरेको वडा न १८ को वडाध्यक्ष चतुरबाबु वाग्लेले बताए ।
‘वडामा थुप्रै बिकास गर्नुपर्ने हुन्छ । नगरप्रमुख ज्युले बजेट नै कटौती गर्न लागे पछि कसरी बिकास गर्ने ?’ भन्दै वडाध्यक्ष वाग्लेले प्रश्न गरेको छन् । जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षहरु वडास्तरीय बजेटको ३० प्रतिशत रकम ठूला आयोजनामा विनियोजन गर्न तयार छन् । वडाको कुल बजेटको ३० प्रतिशत बजेट ठूला आयोजनमा बिनियोजन गर्न वडाअध्यक्षहरु तयार रहेको तर नगरप्रमुखले कुनै पनि हालमा वडाको सिलिङ नबढाउने अडान लिए पछि नगरसभा अन्यौल बनेको वडाध्यक्षहरुले बताए ।
यता नगरप्रमुख राजन पौडेलले टुक्रे बजेटलाई न्यून पार्ने र ठूला आयोजनामा उपमहानगरले लगानी गर्ने अडान लिएका छन् । उपमहानगरले यस पटक घाटा बजेट ल्याएकोले वडाको सिलिङ पनि कटौती गरिएको नगरप्रमुख पौडेलले बताए ।
‘घाटा बजेट बनाउनु उपमहानगरको विकासका निम्ति घातक रहेकाले गत बर्षको सिलिङलाई निरन्तरता दिन सकिन्न’ नगरप्रमुख पौडेलले भने, ‘अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी र टुक्रे योजनाहरू पुरै नियन्त्रण गर्ने मेरो अडान हो । अहिले समयमै बजेट ल्याउने भन्दा पनि नगरसभा रोक्ने र बार्गेनिङ गर्ने परिपाटी बढेको छ ।’
उपमहानगरपालिकाको २४ वटै वडामा चालु आर्थिक बर्षमा ५०५ वटा टुक्रे योजना रहेको तथ्यांकमा उल्लेख छ । ५०५ वटा टुक्रे योजनामा २४ करोड बढी रकम खर्चेको भेटिएको छ । टुक्रे योजनाले बिकासको गतिमा राम्रो प्रतिफल नल्याएको भन्दै नगरप्रमुखले वडाको सिलिङ नै घटाए पछि अहिले वडाध्यक्षहरु नगरसभा नै बहिष्कारमा उत्रेका छन् ।
उपमहानगरका २४ वटा वडामा चालु आर्थिक वर्षमा विनियोजन भएको ३३ करोड बजेटमध्ये २४ करोड १० लाख भन्दा कम रकमका टुक्रे योजनामा खर्च भएको पाइएको छ । जसमा वडाको पुँजीगत खर्च (वडाको विकास) भन्दा पनि कार्यकर्ता पाल्ने र आफू अनुकूलका व्यक्ति र संघ, संस्थालाई खुसी पार्ने प्रयास गरेको पाइएको छ ।
१० गते नगरसभा होला त ? के छ कानुनी प्रवधान ?
संविधानको धारा २३० को अनुसूची ८, स्थानीय सरकारका सञ्चालन ऐनको दफा २३ र जीतपुर सिमरा उपमहानगरको नगरसभा सञ्चालन सम्बन्धी नियमावली २०७५ अनुसार पहिलो पटक बसेको नगरसभामा ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा गणपूरक संख्या मानिन्छ ।
यदि सो गणपूरक संख्या नपुगेमा ३ दिनभित्रमा दोस्रो पटक बैठक बोलाउने र त्यसवेला पनि ५० प्रतिशत नपुगे २ दिनमा तेस्रो पटक बोलाउने र उक्त बैठकमा २५ प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने कानुनी व्यवस्था छ । जीतपुर सिमरा उपमहानगरमा विगत वर्षहरूमा जस्तै यो वर्षपनि समयमा नगरसभा हुन नदिने देखेपछि नगरप्रमुख पौडेलले कानुनी अधिकारको प्रयोग गर्ने विकल्पमा लागेका छन् ।
बारा
प्रतिक्रिया