टी–२० विश्वकप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई स्वागत

काठमाडौं । आइसिसी टी– २० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।

अमेरिका र वेस्ट इण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

विश्वकप क्रिकेटमा नेपाल समूह ‘डि’ मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँढेका थिए । त्यसपछि वेस्ट इण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो ।

त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

विश्वकपमा नेपालसँगै श्रीलंका र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै दक्षिण अफ्रिका र बंगलादेश भने सुपर आठमा पुगेका छन् । दक्षिण अफ्रिका समूह ‘डि’ को शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन् ।– रासस

प्रतिक्रिया