दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरियताको छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरतर्फ वरीयताको एकसाथ तीन स्थान सुधार गर्दै छैटौँ स्थानमा उक्लिएका छन् ।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैटौँ स्थानमा फड्को मारेका हुन् । यस पटकको वरीयतामा दीपेन्द्रले भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अलीलाई पछि पारेका छन् ।

नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किएको छ । यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा छन् । यस्तै कप्तान रोहित पौडेलले एकैपटकमा ११ स्थान सुधार गरेका छन् । यसअघि ६६औँ स्थानमा रहेका रोहितले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा आइपुगेका हुन् ।

गुल्सन झाको वरीयता ६ स्थान तल झर्दा कुशल भुर्तेल ४३ स्थान अगाडि आइपुगेका छन् । गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन् । नेपालका करण केसीको पनि वरीयता खस्किएको छ । उनी ६ स्थान तल झर्दा ७५औँ स्थानमा पुगेका छन् ।

विश्व वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन् । यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन् ।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एकस्थान माथि पाँचौँ वरीयतामा छन् । आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ ।

विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३.३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए ।

त्यसअघि दक्षिणअफ्रिकाविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यो खेलमा उनले ६ रन मात्रै जोडे । नेदरल्यान्ड्सविरुद्ध १ रनमै आउट भएका उनले २ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए ।

प्रतिक्रिया