मोहीको बजार मूल्य अनुचित

दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको ४८ करोड रुपैयाँ बक्यौता तिरेको छ । गर्मी लागेसँगै दही, मोहीको बिक्री अत्यधिक बढेकाले किसानको बक्यौता तिर्न सजिलो भएको डिडिसीले जनाएको छ । सरकारी स्वामित्वको डिडिसी मात्रै होइन, निजी क्षेत्रमा सञ्चालित डेरीहरूले समेत यस वर्षको गर्मीमा निकै राहत महसुस गरेका छन् । कपिलबस्तुमा सञ्चालित ग्वोबल डेरीले गत चैतदेखि परीक्षणका रूपमा मोहीको ब्रान्डसहित व्यावसायिक उत्पादन थालेको थियो । सुरुमा दैनिक १ हजार लिटर बिक्री भएकोमा गर्मी बढ्दै जाँदा जेठसम्ममा दैनिक ३ हजार लिटर बिक्री हुन थाल्यो, ग्लोबल डेरीको क्षमताले बजारको माग थेग्न नसकेपछि रूपन्देही, कपिलवस्तु तथा परासी क्षेत्रका अन्य डेरीहरूले पनि मोहीको ब्रान्ड बनाएर व्यावसायिक उत्पादन गर्न थाले । पोखरा क्षेत्रमा पनि गर्मी सिजिन सुरु भएसँगै बजगाईं डेरीले मोहीलाई ब्रान्डिङ गरेर बेच्न थालेको थियो । बिक्री यति बढ्यो कि बजारको मागलाई बजगाईं डेरी एक्लैले धान्न सकेन, अन्य डेरीहरूले पनि मोही बेच्न थाले । बुटवल र पोखरा क्षेत्रमा मात्रै होइन, पछिल्लो समयमा मोहीको उपभोग देशैभर बढेको छ । तर, मोहीको बिक्री के कति परिमाणमा बढेको छ ? भन्ने एकीन तथ्यांक भने न सरकारले राखेको छ, न डेरी एसोसिएसनले नै राखेको छ । केही ठूला डेरीहरूले ब्रान्डिङ गरे पनि अधिकांश साना डेरीहरूले खुलारूपमै बेचिरहेका छन् । बढ्दो मोही बिक्रीबाट साना डेरीहरू पनि उत्साहित देखिएका छन् ।

दही मथेर घिउ झिकिसकेपछि बाँकी रहेको तरल पदार्थ हो मोही । गाउँघरतिर अझै पनि मोही बिक्री गर्ने चलन छैन, सित्तैमा बाँढ्ने चलन छ । नेपालमा सहरीकरणको इतिहास लामो छैन । गाउँमै हुर्के बढेकाहरू बसार्इं सर्दै गएका कारण बजार क्षेत्रहरू सहर बनेका हुन् । त्यसैले सहरका कतिपय उपभोक्तामा समेत सित्तैमा मोही पाए खाने, तर किनेर खाने बानी परेको थिएन । बरु कोकाकोला, फ्यान्टा लगायतका रसायनयुक्त पेय पदार्थ किनेर खाने बानी परेको थियो । कोकाकोला, फ्यान्टा लगायतका रसायनयुक्त पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक हुन् तर मोही स्वास्थ्यका लागि अमृत बराबर हो भन्ने जनचेतना फैलाउन ढिलो भयो ।

यही ढिलाइका कारण एकातिर मोही खेर फाल्न बाध्य हुँदा डेरीहरू घाटामा जाने अर्कोतिर दूध बेच्ने किसानहरूले लगानी अनुसारको मूल्य नपाउने समस्या उत्पन्न भयो । रसायनयुक्त पेय पदार्थभन्दा मोही स्वास्थ्यका लागि धेरै उत्तम हो भन्ने जनचेतना बिस्तारै वृद्धि हुँदै गएको छ । मोहीको बिक्री बढ्दै जानुु त्यसैको परिणाम हो । मोहीको बढ्दो बिक्रीसँगै बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित चिसो पेय पदार्थको बजार साँघुरिँदै जानु स्वभाविकै हो । त्यसैले आफ्नो बजार गुम्न नदिन बहुराष्ट्रिय कम्पनीहरूले चलखेल गर्न सक्छन्, किनकी उनीहरू बलिया छन् । सरकार र डेरी एसोसियसन यो मामिलामा निकै सतर्क हुनुपर्ने देखिन्छ ।

यतिबेला तराईको बजारमा मोहीको मूल्य प्रतिलिटर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ भने काठमाडौँ तथा पोखरा उपत्यकामा प्रतिलिटर ७० देखि ९० रुपैयाँ कायम गरिएको छ । किसानले पाउने दूधको मूल्यभन्दा उपभोक्ताले किन्ने मोहीको मूल्य केही बढी छ । सामान्यतया १० लिटर दूधबाट एक लिटर घिउ निस्कन्छ, अनि २० लिटर मोही निस्कन्छ भन्ने कुरा सबै किसानलाई थाहा छ, ९० प्रतिशत उपभोक्तालाई पनि योे कुरा थाहा छ । उपभोक्ताले आफूहरू लुटिएको महसुस जबसम्म गर्छन्, तबसम्म त्यो बस्तुले स्थायी रूपमा बजार लिन सक्दैन । यो यथार्थतालाई डेरी व्यवसायीहरूले गम्भीर रूपमा मनन गर्नु जरुरी छ । अनुचित मुल्य राखेर बिक्री गर्दा प्राप्त हुने नाफा क्षणिक हुन्छ, उचित मूल्य राखेर बेच्दा प्राप्त हुने नाफा दीर्घकालीन हुन्छ भन्ने हेक्का डेरी व्यवसायीहरूले राख्नु जरुरी छ ।

प्रतिक्रिया