काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । सोमबार बिहान किङ्स टाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १०६ रन बनायो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ ओभरमा ८५ रन बनाउँदै अलआउट भयो ।
हारसँगै नेपाल जम्मा १ अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ । बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ । दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स समावेश समूह ‘डी’मा नेपाल अंक तालिकाको पुछारमा रहेको हो ।
दक्षिण अफ्रिका शतप्रतिशत जितसहित सुपर ८ मा प्रवेश गर्दा बंगलादेशले ३ खेलमा जित हात पारेको हो । नेदरल्यान्ड्सले नेपाललाई हरायो भने अन्य खेलमा पराजयको सामना गरेको थियो । श्रीलंकाले अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराएको हो । नेपालसँग वर्षाका कारण अंक बाँडेको श्रीलंकाका लागि बंगलादेशसँगको हार महँगो सावित भयो ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजयको सामना गरेको थियो भने दोस्रो श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो । नेपालको तेस्रो खेल भने सम्झन लायक बन्यो । लामो विवादपछि यस प्रतियोगितामा स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाए । अमेरिकाले भिसा दिन अस्वीकार गरे पनि सन्दीपले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलमा सहभागिता जनाए । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भए पनि नेपालले राष्ट्रियसँगै अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट पनि उल्लेख्य प्रशंसा पायो । सो खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रन बनाउँदै १ रनले पराजित हुन पुग्यो ।
अन्तिम दिन भने श्रीलंका लयमा थियो । २०२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ११८ रनमा सीमित बन्यो । चारिथ अलासान्काले २१ बलमा ४६ रन बनाए । पहिलो चरणबाट बाहिरिइसकेको पाकिस्तानले पनि अन्तिम खेलमा आयरल्यान्डलाई ३ विकेटले हरायो । सो खेलमा आयरल्यान्डलाई १०६ रनमा सीमित गरेको पाकिस्तानले ७ बल बाँकी रहँदा ७ विकेको क्षतिमै लक्ष्य पूरा ग¥यो ।
नेपालले टी–२० विश्वकपमा १० वर्षपछि सहभागिता जनाएको हो । १० वर्षअघि नेपालले १ खेलमा जित हात पारेको थियो । प्रतियोगितामा सुपर ८ मा प्रवेश आठै टोलीको टुंगो लागिसकेको छ ।
सन्दीपका नाममा कीर्तिमान
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् । योसँगै उनी टी–२० आई क्रिकेटमा छिटो १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी–२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सूचीको पहिलो स्थान अफगानिस्तानका रसिद खानको नाममा छ । उनले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए । विश्वमा दोस्रो बनेका सन्दीप टी–२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यस्तै, अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०६ रनमै रोक्न सक्यो र सोही स्कोर नै बंगलादेशले रक्षा गर्दै खेल जित्यो । टी–२० विश्वकपमा अहिलेसम्म कुनै टिमले यति रन रक्षा गर्दै खेल जितेको इतिहास थिए । पूरै २० ओभर खेलेर यति कम रन बनाएर कुनै टिमले जितेको थिएन । यसअघि गत साता बंगलादेशविरुद्ध साउथ अफ्रिकाले ११३ रनको स्कोर रक्षा गर्दै खेल जितेको थियो ।
प्रतिक्रिया