गोर्खा भर्तीले फेरि निरन्तरता पाउने सम्भावना

नेपालको वामपन्थी कित्ताका पार्टीहरूले लामो समयदेखि उठाउँदै आएको माग हो, ‘गोर्खा भर्ती बन्द गरियोस् ।’ २००७ सालको क्रान्ति सम्पन्न भए लगत्तै उठाउँदै आएको माग हो यो । २०४६ सालको परिवर्तनपछिको ३५ वर्षलाई हेर्ने हो भने धेरैजसो समय वामपन्थी कित्ताका अर्थात कम्युनिस्ट पार्टीहरू सरकारमा छन्, तर गोर्खा भर्ती बन्द गर्ने सन्दर्भमा अहिलेसम्म ठोस निर्णय भएको देखिन्न । बरु भारत र बेलायतबाहेक थप अरू देशका सेनामा नेपालीहरू भर्ना हुने क्रम बढेको छ । संझौता नभएका देशका सेनामा समेत नेपालीहरू पुगेको कुरा रुस र युक्रेनबीच जारी युद्धका समाचारले पुष्टि गरेको छ । औपचारिक टुंगो नलागे पनि विगत पाँच वर्षदेखि नेपालीहरू भारतीय सेनामा भर्ती हुने क्रम करिब करिब ठप्प छ । बेलायती सेनामा भने हरेक वर्ष केही युवाहरू भर्ती हुने गरेका छन् ।

सन् २०१४ मा नरेन्द्र मोदीले पहिलोपटक सत्ताको वागडोर सम्हालेपछि भारतीय सेनामा नेपालीहरूको संख्या भारी मात्रामा कटौती गर्ने रणनीति सुरु गरेका थिए । वार्षिक ३ हजारको हाराहारीमा भर्ती लिइने गरिएकोमा मोदी प्रधानमन्त्री हुनासाथ कटौती गरी वार्षिक एक हजारमा झारिएको थियो । सन् २०१९ मा मोदी दोस्रोपटक प्रधानमन्त्री बनेपछि भारतले आफ्नो सेनामा अग्निपथ योजना लागू गर्यो । नेपालीहरूलाई पनि अग्निपथ योजनाअन्तर्गत नै राखियो । तर, नेपालले भने अग्निपथ योजना त्रिपक्षीय सन्धी विपरीत भएको भन्दै भारतीय सेनामा भर्ती रोकेको छ ।

गोर्खा भर्ती रोकिएको सन्दर्भमा नेपालभित्र खासै वास्ता भएको देखिन्न । जनस्तरमा पनि चसो हुन छाडेको छ । तर, भारतमा भने यो विषयलाई लिएर सरकारको आलोचना हुन थालेको छ । यसपटकको चुनावमा प्रधानमन्त्री मोदीको पार्टी बिजेपीको सिट संख्या अल्पमतमा पर्ने गरी निकै भारी मात्रामा कटौती भएपछि गोर्खा भर्तीको विषयले फेरि प्रवेश पाएको छ । मोदीको लोकप्रियता भारी मात्रामा घट्नुका कारणमध्ये एउटा कारण गोर्खा भर्ती बन्द हुनु रहेको टिप्पणी भारतीय सेनाका पूर्व अधिकृतहरूले गरेका छन् । गोर्खा भर्ती बन्द हुँदा भारतीय सेना र नेपालबीच सम्बन्धको विशेष सेतु टुटेको र नेपाल–चीनबीच विशेष सम्बन्धका लागि मार्ग प्रसस्त भएको विश्लेषण उनीहरूको छ । अन्य पार्टीहरूको सहयोगमा तेस्रोपटक प्रधानमन्त्री बनेका मोदीले अब गोर्खा भर्तीका सन्दर्भमा कोर्स करेक्सन गर्ने भन्दै भारतीय मिडियाहरूमा समाचार आउन थालेको छ ।

भारतीय सेनामा नेपालीहरू भर्तीहुने क्रम पुनः सुचारु हुने संभावना मरिसकेको छैन । तर, विगतको जस्तै उल्लेख्य मात्रामा भर्ती हुने संभावना भने क्रमशः साँघुरिँदै गएको छ । पहिलो कुरा त युद्धको प्रविधिले फड्को मारेका कारण सेनाको संख्या कटौती हुँदै जाने अवस्था छ । भारतमै बसोबास गर्दै आएका नेपाली मूलका नागरिकहरूबाटै यो संख्या आपूर्ति हुने अवस्था छ । दोस्रो कुरा पैसाको मुख नदेखेको नेपाली समाजमा हिजो लाहुरेको ठूलो इज्जत र प्रतिष्ठा थियो, तर अहिले नेपालीहरूले विश्वका सबै देशमा रोजगारीको अवशर पाएका छन्, समाजमा चेतना भरिइसकेका कारण लाहुरेहरूको प्रतिष्ठा हिजोको जस्तो छैन । खासगरी गोर्खा भर्ती परम्पराकै कारण आफूहरू राज्य सञ्चालनको मूल प्रवाहबाट निकै टाढा पुगेको महसुस नेपालका राई, लिम्बु, गुरुङ, मगर समुदायले गरेका छन् । त्यसैले गोर्खा भर्तीको विषयलाई लिएर नेपालले आफ्नै सक्रीयतामा भारतसँग वार्ता गर्नु जरुरी नदेखेको हो । नेपाली चासोका अन्य मुद्दाहरू सम्बोधन गर्न भारत तयार हुन्छ भने गोर्खा भर्ती सूचारु गर्ने भारतीय चाहनालाई नेपालले अस्वीकार गर्नु जरुरी छैन । गोर्खा भर्तीले नेपालको बेरोजगारी समस्या केही नै केही सम्बोधन गर्छ ।

प्रतिक्रिया