काठमाडौं । आइसिसी विश्वकप टी– २० क्रिकेट २०२४ अन्तर्गत समूह ‘डी’ को चोथो तथा अन्तिम खेलमा बंगलादेशले नेपाललाई जितका लागि १०७ रनको लक्ष्य दिएको छ । आफ्नो अन्तिम खेलमा नेपालल आज बिहान बंगलादेशसँग भिडेको हो ।
यस खेलमा बंगलादेशसँग दश वर्षअघि हारेको बदला लिने दाउमा नेपाल रहेको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई १०६ रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।
सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो ।
नेपालको बलिङ सामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।
नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउदै उत्कृष्ट सुरुवात दिए । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे । अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे ।
सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए । कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५.४ ओभरमा ३०–४ को दयनीय अवस्थामा पुगेको थियो ।
अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११।४ ओभरमा ६१९६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए ।
अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर, बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।
समूह ‘डी’ बाट दक्षिण अफ्रिका आठ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरण तथा सुपर आठमा प्रवेश गरिसकेको छ । अब समूह ‘डी’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अंक तालिकामा बंगलादेशको चार अंक छ ।
विश्वकपमा एक अंक बटुलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ ।
भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो ।
प्रतिक्रिया