काठमाडौं । आइसिसी विश्वकप टी– २० क्रिकेट २०२४ अन्तर्गत समूह ‘डी’ को आफ्नो अन्तिम खेलमा नेपालले सोमबार (भोलि) बिहान बंगलादेशसँग भिड्दै छ । यस खेलमा बंगलादेशसँग दश वर्षअघि हारेको बदला लिने दाउमा नेपाल रहने छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा हुने उक्त खेल नेपाली समय अनुसार सोमबार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर, बंगलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ ।
समूह ‘डी’ बाट दक्षिण अफ्रिका आठ अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरण तथा सुपर आठमा प्रवेश गरिसकेको छ । अब समूह ‘डी’ बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बंगलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अंक तालिकामा बंगलादेशको चार अंक छ ।
विश्वकपमा एक अंक बटुलेको श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । नेदरल्यान्ड्स दुई अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेल पनि भोलि नै हुनेछ ।
भोलिको खेलमा नेपाललाई बंगलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ । नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
विश्वकपमा नेपालले यसअघि खेलेको तीन खेलमा दुई खेलमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा नेपाल एक रनले पराजित भएको थिथो ।
प्रतिक्रिया