कारबाडोस । आइसिसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे । ४९ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरेका हुन् । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमेको हो । दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले ४ ओभर बलिङ गर्दा मात्र १९ रन दिएर ४ विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।
सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन ्। ट्रिस्टन स्टब्सले नेपालविरुद्ध १८ बल खेल्दै नटआउट २७ रन बनाए भने कप्तान एडेन मार्करामले १५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिए । उनले मात्र १९ रन दिएर ४ विकेट हात पारे । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ३ विकेट हात पारे । उनले ४ ओभर बलिङ गर्दा २१ रन दिए । सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन् । चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए ।
समूह ‘डी’को दक्षिण अफ्रिका नेपालसँगको खेल अगाडि नै विश्वकपको सुपर ८ पुगिसकेको छ । चार खेलमा सत प्रतिशत जित सहित अंक भएको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । बंगलादेश चार अंकसहित दोस्रो स्थानमा छ भने दुई अंक जोडेको नेदरल्यान्डस् दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र श्रीलंका भने समान तीनतीन खेल्दै एक एक अंक बाँडेर पुछारमा छन् । यो समूहबाट सुपर ८ पुग्ने बंगलादेशको सम्भावना बलियो बनेको छ ।
फेलोरिडामा वर्षाको कारण अफगानिस्तान र आयरल्यान्डो खेल रोकिए पछि पाकिस्तान पहिलो चरणबाट बाहिरिएको छ । सो समूहबाट भारत र अफगानिस्तान सुपर एटमा प्रवेश गरेका छन् ।
पाकिस्तान भारत र अफगानिस्तान दुवै टोलीसँग पराजित भएको थियो । शनीवार बिहान भएको खेलमा न्युजील्यान्डले युगान्डालाई ९ विकेटले हरायो । युगान्डाले दिएको ४१ रनको लक्ष्य न्युजील्यान्डले ५ ओभर २ बलमा १ विकेटको क्षतीमा पुरा गरेको हो । न्युजील्यान्ड पहिलो चरणबाट बाहिरिसकेको छ । सो समूहबाट अफगानिस्तान र वेस्टइन्डिज सुपर एटमा प्रवेश गरी सकेका छन् । अस्ट्रेलिया पिन सुपर एटमा प्रवेश गरी सकेको छ । सुपर एटमा २ टिमको टुंगो लाग्न बाँकी छ ।
अन्तर्राष्ट्रिय निकायबाट नेपालको प्रशंसा
टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले हार बेहोरे पनि क्रिकेट समुदायमा नेपालको प्रशंसा भएको छ । विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्षा भोग्लेले नेपाली क्रिकेट टोलीलाई शिर उँचो राख्न सुझाएका हुन् ।
शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तर पराजित भयो । जितका लागि ११६ रन पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । आजको खेल जितेको भए, टेस्ट खेल्ने राष्ट्रविरुद्ध नेपालको पहिलो जित हुने थियो ।
भोग्ले भने नेपाल निराश हुनु नपर्ने बताउँछन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘शिर उँचो राख नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई तपाईंहरूले झन्डै हराउनुभयो । तपाईंहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक छन्, तपाईंहरूले उनीहरूलाई विश्वास दिलाउनुभएको छ । आशा छ, छिट्टै नै ठुला दिनहरू आउनेछन् ।’
प्रतिक्रिया