काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइसिसी टी– २० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले बलियाे टेष्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई आफ्नो शिर उचाइमा राख्न आग्रह गरेको छ ।
शनिबार बिहान भएको उक्त खेलमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई टक्कर दिँदै झिनो १ रनले पराजित भएको छ । आफ्नो समूह चरणको यस हारसँगै नेपाल भने सुपर आठको दौडबाट बाहिर भइसकेको छ । आजको खेलपछि आईसीसीले सामाजिक सञ्जाल आफ्नो फेसबुक पेजमा खेलका केही फोटाहरु पोष्ट गर्दै नेपालको प्रशंसा गरेको हो ।
आईसीसीले फेसबुक पेजमा नेपाल क्रिकेट संघ (क्यान) लाई मेन्सन गर्दै भनेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर उचाइमा राख ।’ दक्षिण अफ्रिकासँग नेपाल झिनो १ रनले पराजित भएपछि नेपाली समर्थकहरुले सामाजिक सञ्जालमा विभिन्न टिकाटीप्पणी गरिरहेका छन् । कसैले खेलाडीहरुप्रति असन्तुष्टी जनाएका छन् भने कसैले प्रशंसा पनि गरेका छन् । तर, आईसीसीले नेपालको प्रदर्शन उत्कृष्ट भएको भन्दै प्रशंसा गरेको छ ।
आईसीसीले नेपाली टोलीहरुको फोटो पोष्ट गर्दै यो पनि भनेको छ, ‘सेन्ट भिन्सेन्टमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो शिर उचालिरहेको छ ।’ आईसीसीले खेलको अन्तिम भिडियो सार्वजनिक गर्दै यो पनि भनेको छ, ‘खेलमा दक्षिण अफ्रिकाले जित्यो तर नेपालले मन जित्यो । डेल स्टेन र आईसीसी डिजिटल इनसाइडर एलेक्स जोर्डन ‘टूर्नामेन्टको खेल’ मा प्रतिबिम्बित ।’
शनिबार वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट भएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमाउन पुग्यो ।
अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए । नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।
ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे ।
क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट झारे । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया