रंगभेद नीतिको कारण लामो समय प्रतिबन्ध सहेको दक्षिण अफ्रिका सन् १९९० को दशकमा खुला विश्वमा प्रवेश गर्ने बित्तिकै विश्व क्रिकेटमा सनसनी फैलाएको थियो । त्यस्तै दक्षिण अफ्रिका शैैली त नभनौँ, परन्तु लामो समय गृह युद्धबाट गुज्रिएको अफगानिस्तानको क्रिकेटको साख भने बढ्दो छ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको प्रदर्शन सानदार छ । अफगानिस्तान सुपर एटमा प्रवेश गरिसकेको छ । उपाधिको दाबेदार टोली मध्ये एउटा अफगानिस्तान पनि हो भन्दा फरक पर्ने छैन । अफगानिस्तानको यसै सफलतासँगै न्युजिल्यान्ड भने बाहिरिएको छ ।
शुक्रबार बिहान पपुवान्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर ८ प्रवेश गरेको हो । अफगानिस्तानले टस जितेर फिल्ङ रोजेपछि सुरुमा ब्याटिङ गरेको पिएनजीले १ बल खेल्न बाँकी हुँदा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । ९६ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १५ दशमलव १ ओभर खेल्दै ३ विकेटको क्षतिमा १०१ रन बनाएको हो । यो अफगानिस्तानको विश्वकपमा लगातार तेस्रो जित हो । अफगानिस्तानका लागि गुलबदिन नायबले नटआउट ४९ रन बनाए । ३६ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे भने मोहमद नाभीले नटआउट १६ रन जोडे । अजमातुल्लाह उमरजाईले १३ रन बनाउँदा रहमानउल्लाह गुरबाजले ११ रन जोडे ।
पिएनजीका लागि अले नाओ, सेमो कमिया र नर्मन भानुआले १ विकेट हात पारे । सुरुमा ब्याटिङ गरेको पिएनजीका लागि किप्लिन डोरिगाले ३२ बलको सामना गर्दै सर्वाधिक २७ रन बनाएका थिए । अले नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
पिएनजीलाई सस्तैमा समेट्न अफगानिस्तानका लागि ४ ओभर बलिङ गरेका फजलहक फारुकीले १६ रन दिँदै ३ विकेट हात पारे । नवीन उल हकले २ विकेट लिँदा मात्र ४ रन दिए । नूर अहमदले १ विकेट हात पारे । यो जितसँगै समूह ‘सी’बाट अफगानिस्तान सुपर ८ मा गएको हो । यो समूहबाट यसअघि नै वेस्ट इन्डिज सुपर ८ प्रवेश गरिसकेको छ । समान ३ खेलमा जित निकाल्दै ६ अंकका साथ अफगानिस्तान र वेस्ट इन्डिज १ खेल अगाडि नै सुपर ८ प्रवेश गरेका हुन् । समूह चरणको अन्तिम खेलमा यिनै दुई राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ ।
यो समूहमा २ अंकसहित तेस्रो स्थानमा रहेको युगान्डासहित अंकविहीन पिएनजी र न्युजिल्यान्ड विश्वकपबाट बाहिरिसकेका छन् । पिएनजीले एउटा खेल खेल्नेछ भने न्युजिल्यान्डले २ खेल खेल्न बाँकी छ । अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा जारी यस प्रतियोगितामा सनसनीपूर्ण यात्रा अघि बढाउने क्रममा अफगानिस्तानले पहिलो खेलमा युगान्डामाथि १२५ रनको कीर्तिमानी जित हात पारेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डमाथि ८४ रनको फराकिलो जित हासिल गरेको हो ।
प्रोभिन्समा भएको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्ने क्रममा रहमनुल्लाह गुर्बाजले ५६ बलमा ८० तथा इब्राहिम जद्रानले ४१ बलमा ४४ रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट र माट हेन्रीले २–२ विकेट लिए ।
जवाफमा न्युजिल्यान्डले १५ दशमलव २ ओभरमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । ग्लेन फिलिप्सले १८ बलमा १८ तथा माट हेन्रीले १७ रनमा १२ रन बाहेक कसैले दोहोरो स्कोर खडा गर्न सकेनन् । अफगानिस्तानका लागि उत्कृष्ट बलिङ गर्ने क्रममा कप्तान राशिद खान र फजलहक फारुकीले समान १७ रन दिएर समान ४ विकेट लिएका थिए । त्यस्तै मोहम्मद नाबीले १६ रन दिएर २ विकेट लिएका थिए ।
पहिलोे खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको सानदार जित निकालेको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो । युगान्डाका लागि रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजत अली शाहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पावर प्लेमै युगान्डाले ५ विकेट गुमाएको थियो ।
युवान्डालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन दिएर लिएर ५ विकेट लिएका थिए । राशिद खान र नविन उल हकले समान २ विकेट लिए भने मुजीब उर रहमानले १ विकेट लिए । सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका थिए । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन् ।
रहमान ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए । ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन् । मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले २–२ विकेट हात पारेका थिए भने अल्पेश रामजानीले १ विकेट लिएका थिए । समूह ‘सी’मा अफगानिस्तान र वेस्ट इन्डिजले विजयी सुरुआत गरेका छन् ।
यसअघि सन् २०२३ मा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले पूर्वविजेता श्रीलंकामाथि जित हात पार्दै सनसनी फैलाएको थियो । सो प्रतियोगितामा विजेता भएको अस्ट्रेलियासमेत अफगानिस्तानसँग हारको नजिक पुगेको थियो । सो खेलमा ग्लेन म्याक्सवेलको सानदार दोहोरो सतकमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएको हो ।
श्रीलंकालाई अफगाािस्तानले ७ विकेटको सानदार जित हात पारेको हो । सो विश्वकपमा विश्वकपमा अफगानिस्तानले पूर्वविजेताद्वय इंग्ल्यान्डलाई ६९ रन र पाकिस्तानमाथि ८ विकेटको जित निकालेको थियो । अफगानिस्तान अंक तालिकामा छैटौँ स्थानमा थियो । अफगानिस्तानले हात पारेको जित मध्ये गएको एकदिवसीय विश्वकपमा श्रीलंका माथिको जित विशेष हो । पुने रंगशालामा भएको खेलमा श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । अजमुतुल्लाह आजाई र हसमुतुल्लाह साहिदीले चौथो विकेटका लागि १०४ बलमा १११ रनको नटआउट साझेदारी गरेपछि अफगानिस्तानले श्रीलंकालाई निराश पारेको हो । अजमुतुल्लाहले ६३ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ७३ रन बनाए । साहिदीले ७४ बलमा ५८ रन जोड्न २ चौका र १ छक्का प्रहार गरेका थिए ।
पहिलो ब्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध गतिलो ब्याटिङ गर्न नसकेपछि सातौँ क्रमका ब्याट्सम्यानले दोहोरो रन बनाए पनि अर्धशतकीय इनिङ्स खेल्न सकेका थिएनन् । ओपनर पथुम निसांका र दिमुथ करुनारत्नेले पहिलो विकेटका लागि ५ दशमलव २ ओभरमा २२ रनको साझेदारी गरेका थिए । दिमुथले २१ बलमा १५ रन जोडे । कप्तान कुशल मेन्डिस र निसांकाले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । निसांकाले ६० बल सामना गरी ५ चौकाको सहयोगमा ४६ रन जोडेका थिए ।
कुशल र सदिरा समाराविक्रमाले तेस्रो विकेटका लागि ५० रनको अर्धशतकीय साझेदारी इनिङ्स खेल्दै श्रीलंकालाई २७ दशमलव ४ ओभरमा १३४÷३ को स्थितिमा राखेका थिए । कुशलले ५० बलमा ३९ रन र सदिराले ४० बलमा ३६ रन जोडे । मध्यक्रममा एन्जेलो म्याथ्युसजले २६ बलमा समान १ चौका र छक्का प्रहार गरी २३ रन बनाएका थिए । महिश थिसनाले ३१ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाएका थिए ।
अफगानिस्तानको बलिङमा फजल्हक फारुकले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक ४ विकेट तथा मुजिव उर रहमानले ३८ रनमा २ विकेट हात पारे । रसिद खान र ओमाजैले समान १ विकेट लिए ।
अफगानिस्तानको जित मात्र होइन कुनै हार पनि चर्चामा रहने गरेको छ । गएको एकदिवसीय विश्वकपमा अस्ट्रेलिया अफगानिस्तानसँगको खेलमा हारको नजिक पुगिसकेको थियो । वानखेडे रंगशालामा भएको खेलमा जितको लागि २९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४ विकेटको क्षतिमा जम्मा ४९ रन मात्र जोडेको थियो । छैटाँै क्रमका ब्याट्सम्यान ग्लेन म्याक्सवेल अफगानिस्तानका अजमतुल्लाह ओमरजाइको ह्याट्रिक बलको सामना गरेर उनी बल्लतल्ल जोगिन सकेका थिए ।
अस्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाएको थियो । २४ र ३३ रनको अवस्थामा म्याक्सवेल दुईपटक जीवनदान पनि पाएका थिए । २७ रनमा उनी मैदान छाडेर बाहिरिनै लागेका थिए तर उनीविरुद्धको एलबिडब्ल्यू अपिल रिभ्यू गर्दा त्यो मान्य नठहरिएपछि उनी फेरि जोगिएका थिए । मुजिबुर रहमानले दोस्रो क्याच छाडेको समयपछि न त अफगानिस्तानका बलरहरूले न त ढाड र जिउ दुखेको समस्याले नै म्याक्सवेललाई रोक्न सके । जितका लागि १०० रन आवश्यक परेको बेला नै उनी दौडनका लागि संघर्ष गर्नुपर्ने भइसकेका थिए ।
त्यसका बाबजुद उनले १२८ बलमा २०१ नटआउटको स्कोर बनाउँदा जसरी हात र आँखाको संयोजन मिलाएर सटिक बल–स्ट्राइक गरे । त्यो भन्दा पहिला उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४० बलमा सबैभन्दा छिटो सेन्चुरी बनाइसकेका थिए । त्यो एउटा यस्तो हार थियो, जुन अफगानिस्तानले बिर्सन सक्दैन । अफगाािस्तानको उपस्थितिले टी–२० क्रिकेट नयाँ बाटोमा गएको देखिएकोे छ ।
अफगानिस्तानका अन्य पाटा अहिले सुखद् छैनन् । तालीवान सत्ताले महिलामाथि ज्यादती गरेका कारण अन्तर्राष्ट्रिय क्षेत्रले नाकाबन्दी गरेको छ । अवस्था दिनानुदिन खराब बनिरहेको छ । सर्वपक्षीय रूपमा ओरालो लागेको अफगानिस्तान पछिल्लो समय अन्य खेलमा पनि खस्किएको छ ।
दक्षिण एसियाली तहमा उठ्दै गरेको अफगानी बास्केटबलको त्यो सनननी कायम छैन । तेक्वान्दोमा आरोलो यात्रा कायम छ । यी सबैका बीच सन् २०२३ को एकदिवसीय विश्वकप र जारी टी–२० विश्कपमा केही यस्ता प्रदर्शन गरेको छ । जसले अफगानिस्तानलाई फेरि एउटा शक्तिको रूपमा स्थापित गरेको छ ।
प्रतिक्रिया