कालिकोट । घुस नदिएको निहुँमा कालिकोटको शुभकालिका गाउँपालिका– ७ का वडाध्यक्ष प्रेम बहादुर शाहीले आफूलाई कुटपिट गरेको स्थानीय जक्तबहादुर शाहीले आरोप लगाएका छन् ।
विश्व खाद्य कार्यक्रम र शुभकालिका गाउँपालिकाको साझेदारीमा वडा नम्बर ७ र ८ को सडक विस्तार उपभोक्ता समितिको अध्यक्ष समेत रहेका जक्तबहादुर शाहीलाई कुटपिट भएको नेपाल राष्टिय शिक्षक संगठन कर्णाली प्रदेश समिति उपाध्यक्ष दिपबहादुर शाहीले बताए ।
४५ लाखको योजनामा ५ प्रतिशत वडाध्यक्षले मागेको र आफूले नदिएको कारण आफूमाथि निर्घात कुटपिट भएको पीडित जक्तबहादुर शाहीले बताएका छन् । ४५ लाखको ५ प्रतिशतले हुन आउने रकमको २ लाख २५ हजार वडाध्यक्षले मागेको र आफूले वडाध्यक्षलाई नदिई कामदारको खातामा रकम जम्मा गरेका कारण कुटपिट गरेको जक्तबहादुर शाहीको भनाई छ ।
वडाध्यक्ष शाहीले शुभकालिका गाउँपालिका– ७ को मेलमिलाप तथा न्यायिक समिति अगाडि सार्वजनिक सडकमा कुटपिट गरेको पीडित शाहीले बताएका छन् । २ लाख २५ हजार रकममा वडाध्यक्षसहित २ जना वडा सदस्यको पनि मिलोमतो रहेको उपभोक्ता समितिका अध्यक्ष जक्तबहादुर शाही बताउँछन् ।
उपभोक्ता समिति अध्यक्ष शाहीका अनुसार वडा सदस्य हरि प्रसाद जैसी र नरदल शाही पनि वडाध्यक्षसँग मिलेको उनले बताएका छन् । स्थानीयवासीहरुले ‘कमिसनखोर वडा अध्यक्ष चाहिँदैन,’ जनता पिट्न पाइँदैन,’ कमिसनखोर वडा अध्यक्ष राजीनामा दे’ भन्दै आन्दोलित भएका छन् ।
शुभकालिका गाउँपालिका– ७ मा विभिन्न नारा लगाउँदै पीडित जक्तबहादुर शाहीलाई न्याय दे भन्दै नारा लगाइरहेका छन् । वडाध्यक्ष शाहीका आफन्तले स्थानीय चौकी बजारमा आफ्ना भाई कृष्णबहादुर शाही र छोरा डिकेन्द्र शाही लगाएर कुटपिट पनि गरेको बताइएको छ ।
बन्चरो समेत देखाएर ज्यान मार्ने धम्की दिएको जक्तबहादुर शाहीले बताए । यस विषयमा शुभकालिका गाउँपालिका– ७ का वडाध्यक्ष प्रेमबहादुर शाहीलाई बुझ्दा आफूसँग कुनै किसिमको सरसल्लाह नगरेर मनपरी ढंगले काम गरेको आरोप लगाएका छन् ।
योजनाको काम राम्रो भएको तर रकम भुक्तानीका विषयमा सल्लाह नगरेका कारण सामान्य बोलचाल भएको उनले बताएका छन् । पीडित जक्तबहादुर शाही नेकपा एमाले शुभकालिका गाउँ कमिटि सदस्य समेत हुन् ।–
कालिकाेट
प्रतिक्रिया